|

सिमरा : त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा ४-२ ले हराएर सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। 

सिमरा रंगशालामा शनिबार भएको फाइनलको निर्धारित समयमा दुबै टोलीले १-१ गोलको बराबरी खेले। खेलको ४७ औं मिनेटमा बालकृष्ण श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। तर आर्मीले अग्रता जोगाउन सकेन।

५६ मिनेटमा बालकृष्ण श्रेष्ठले विदेशी खेलाडी मार्टिन अजाईलाई लडाएपछि संकटाले फ्रिकिक पायो। अमित तामाङले प्रहा गरेको फ्रिकिक गोलमा परिणत भयो। रोमान्चक खेलमा त्यसपछि पनि दुबै टोलीले गोलका लागि थुप्रै अवसर सिर्जना गरेका थिए। तर फिनिसिङमा चुके। अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न सकेनन्।

टाइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरे। संकटाका विश्‍व अधिकारीको प्रहार भने गोलकिपर सुनिल श्रीवास्तवले रोकेका थिए। आर्मीबाट सन्तोष तामाङ र हिरण्य मगरले मात्र गोल गर्न सके। जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए।

उपाधिसंगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार रुपैयाँ हात पारेको छ। उपविजेता आर्मीले २ लाख ५१ हजार नगदमै चित्त बुझाएको छ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए।

उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाइकलसहित नगद १५ हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका विमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे। उनीहरु सबैले नगद १५-१५ हजार रुपैयाँ जिते।

प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ। विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.