|

मुगु : लकडाउनका कारण मुगुमा जनता आवास कार्यक्रम अलपत्र परेको छ। लकडाउनका कारण आवश्यक सामग्री अभाव भएकाले निर्माण कार्य रोकिएको हो।

चालु आर्थिक वर्षभित्रै ३५० घर निर्माण सम्पन्न गर्ने गरी कार्यक्रम सुरु गरिएको हो। तर, आर्थिक वर्ष अन्तिम भइसक्दा एउटा घर पनि निर्माण भइनसकेको जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ।

कार्यालयले घर निर्माणका लागि प्रतिपरिवार तीन लाख रुपैयाँ सम्झौता गरेको निमित्त प्रमुख मोहनसिंह कार्कीले बताए। गत पुस महिनामा पहिलो किस्ता बापत सबै परिवारलाई ८३ हजार रुपैयाँ भुक्तानी गरिसकिएको कार्कीले बताए। अहिलेसम्म ५० प्रतिशत काम पनि नभएको कार्यालयले जनाएको छ।

लकडाउनका कारण जस्तापाता र सिमेन्ट ढुवानीमा समस्या भएपछि घर निर्माण अधुरै बनेको सोरु गाउँपालिका–४ का प्रकाश कामीले बताए। ‘निर्माण सामग्री जुटाउनै समस्या भयो,’ उनले भने, ‘लकडाउन नभएको भए सबै नयाँ घरमा सरिसक्थ्यौं।’

लकडाउनका कारण यो वर्ष नयाँ घरमा सर्ने सपना अधुरै हुने छायानाथरारा नगरपालिका–८ का अंक कामीले बताउँछन्। जनता आवास कार्यक्रम र स्थानीय तहबीच समन्वय नहुँदा पनि घर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ। कार्यक्रमअन्तर्गत पिलरसहितको एक तले तीन कोठा भएको घर निर्माण गर्नुपर्ने छ। 

पूर्वाधार विकास कार्यालयका अनुसार कार्यक्रमको सबै बजेट आउन ढिलाइ हुँदा घर निर्माणमा समस्या भएको हो । जिल्लाभरिका सबै घर निर्माण गर्न नौ करोड बजेट चाहिने भए पनि तीन करोड रुपैयाँ मात्र निकासा भएको निमित्त प्रमुख कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.