|

बैतडी : भारतबाट फर्किनेको संख्या दिनहुँ बढेसँगै बैतडीमा क्वारेन्टाइनमा बस्ने पनि बढ्दै गएका छन्।  शुक्रबारसम्म विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा चार हजार १७२ जना रहेको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए। 

शिवनाथ गाउँपालिकामा ८५८ जना क्वारेन्टाइन छन्। यस्तै मेलौली नगरपालिकामा ७१६, पञ्चेश्वर गाउँपालिकामा ६४६, पाटन नगरपालिकामा ३५४, दोगडाकेदार गाउँपालिकामा ३२९ र पुर्चौडी नगरपालिकामा ३२८ जना क्वारेन्टाइनमा रहेको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।

यस्तै, दशरथचन्द नगरपालिकामा २९७, सुर्नया गाउँपालिकामा २८४, सिगास गाउँपालिकामा २४१ र डिलाशैनी गाउँपालिकामा ११६ जना क्वारेन्टाइनमा बसेका छन्।  

उनीहरुलाई सुदूरपश्चिमका विभिन्न नाकाबाट उद्धार गरी ल्याइएको हो । क्वारेन्टाइमा बस्नेहरुको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम बढ्दै गएको छ। १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि  उनीहरुको कोरोना परिक्षण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। परीक्षणका लागि किट अभाव रहेको र माग गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउँछन्।

बैतडीमा भारतबाट आएका बैतडीका पाँचजनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। संक्रमितमध्ये एकजनाको जिल्ला अस्पताल र चारजनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.