भक्तपुर : भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत भारतीय मजदुरहरुलाई घर पठाएको छ। इँटाभट्टा बन्द भएपनि लकडाउनका कारण घर जान नपाएका भारतिय मजदुरलाई भारतीय दुतावासको समन्वयमा घर पठाएको हो।
जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टामा करिब २ हजार ५ सय भारतीय मजदुर घर जान नपाएर रोकिएका थिए। विगतका वर्ष जेठसम्म सञ्चालन हुने इँटाभट्टा यसवर्ष कोभिड १९ को महामारीका कारण गत चैत्रमा नै बन्द भएका थिए।
भारतीय मजदुरहरुलाई भक्तपुर इँटा उद्योग व्यवसायी संघले भारतीय दूतावाससँग समन्वयगरी गृह मन्त्रालयको आदेशमा जिल्ला प्रसाशन कार्यलयले पास उपलब्ध गराएपछि घर फर्काउन थालिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए।
पहिलो चरणमा बिहिवार १ हजार ५ सय भारतीय मजदुरलाई ३९ वटा बसबाट विरगञ्ज नाकाहुँदै भारत जाने व्यवस्था गरी पठाएको उनले बताए। उनले बाँकी रहेका करिव १ हजार मजदुरहरुलाई शुक्रवार पठाएको जानकारी दिए। केही दिन अघि विपि राजमार्ग हुँदै हिँडेरै घर जान लागेका मजदुरहरुलाई प्रहरीले भक्तपुरको साँगाबाट फर्काएको थियो।
इँटाभट्टा बन्द भई बेरोजगार बनेका मजदुरहरुलाई सम्बन्धित उद्योगले खानेपानी, बिजुली र बस्ने व्यवस्था गर्दै मासिक २ हजार ४ सय भत्ता दिएर राखेका थिए।
उद्योगी व्यवसायीहरुले गत साता भारतीय मजदुरलाई पाल्न नसक्ने भन्दै उनीहरुलाई घर पठाउने व्यवस्थाका लागि नेपाल सरकार र भारतीय दुतावासलाई आग्रह गरेको थियो।
भारतीय मजदुरलाई संघले प्रतिबस ३६ हजार भाडा र मजदुरलाई प्रतिव्यक्ति ३ देखि ५ हजार रुपैया सम्म खर्च दिएर घर पठाएको संघका अध्यक्ष नातिभाइ ह्योंम्वाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।