|

पाल्पा : जिल्लाका विभिन्न ठाउँमा आवताजावतमा कडाई गरिएको छ। सिद्धार्थ राजमार्ग र पाल्पा गुल्मी सडकखण्डमा पर्ने विभिन्न ठाउँमा प्रहरीले चेकजाँच कडा पारेको छ भने गाउँमा स्थानीय युवाले निगरानी गरिरहेका छन्। 

उनीहरू पालो बाँडेर दिनरात गाउँका मुख्य सडकमा बस्ने गरेका छन्। कुनै पनि सवारीसाधन वा पैदल हिँडेका मानिस आएमा उनीहरूले सोधपुछ गर्छन्। हिँड्न पाइने कुनै आधिकारी पास वा भरपर्दो प्रमाण भए गाउँमा प्रवेश दिन्छन्। नभए त्यहीँबाट फर्काइदिन्छन्।

रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भने तलब नै दिएर चौकीदार राखिएको छ। चौबिसै घण्टा निगरानी गर्न मासिक तलब तोकेर दुई जनालाई चौकिदारका रुपमा खटाइएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए। उनका अनुसार उनीहरूले मासिक ३० हजारका दरले तलब पाउँछन्। दिनरात उनीहरूले ड्युटी गर्नुपर्छ। 

वडामा कति गाडी प्रवेश गरे, कति बाहिरिए भन्ने रेकर्ड उनीहरूले राख्नुपर्ने हुन्छ। कुन मानिस के कामका लागि आए, कहाँबाट आए, क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था भए नभएकोबारे उनीहरूले वडामा वा नजिकैको प्रहरी चौकीमा जानकारी गराउने वडाध्यक्ष दर्लामीले बताए। जिल्लामै उच्च जोखिममा रहेको भुवनपोखरीमा कोरोना भाइरस (कोभिड १९) बाट सतर्कता अपाउन चौकीदार नै खटाउनुपरेको उनले बताए। 

लुकिछिपी वडा प्रवेश गर्न थालेपछि कोरोना संक्रमितको जोखिम बढ्न थालेको दर्लामीले बताए। लकडाउनको सुरूवाती चरणमा २ सयभन्दा बढी युवा भारतबाट भुवनपोखरीमा आएका थिए। 

जिल्लामा एकैपटक सबैभन्दा बढी यही वडामा भारतबाट आएका थिए। केही दिनअघि भारतबाट आएका ६८ जना युवाअहिले पनि स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका छन् भने १० जना आजै सुनौली नाकाबाट आउने तयारीमा रहेको अध्यक्ष दर्लामीले बताए।  

वैशाख ३ गतेदेखि आफूले यहाँ काम गर्दै आएको स्थानीय तोलबहादुर दगालले बताए। लकडाउनले परिवार पाल्नसमेत समस्या भएको अवस्थामा पाएको जागिरले ठूलो राहत मिलेको उनले बताए। 

‘दुई जना छौं, १२÷१२ घण्टा काम गर्छौ’, उनले भने ‘रातको समयमा कतिपय मानिसले कुरा नबुझेर थर्काउने र धम्काउने गर्छन्। तर पनि गाउँको सुरक्षाका लागि वडाले दिएको जिम्मेवारी पूरा गरिरहेका छौं।’ 

यहाँ आउने र जाने सवारी साधनसहित मानिसको रेकर्ड राखेर वडामा बुझाउने गरेको उनले बताए। साथै नयाँ मान्छे कुनै पास वा आधिकारीक कामको प्रमाणविना आएमा फर्काउने गरेको दगालले बताए। 

कसैले अटेर गरेमा प्रहरीको सहायतामा उनीहरूलाई सम्बन्धित ठाउँमा फर्काउने गरेको दगालले सुनाए। सडकमा तेर्साइएको बाँसमा ताल्चा लगाएर उनीहरूले ड्युटी गर्दै आएका छन्। जान दिन मिल्ने अवस्थाका मानिसलाई ताल्चा खोलिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.