संघ भन्छ : स्थानीय तहमा नभए प्रदेशअनुसार माग्नु

|

गुल्मी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ३० गते  सबै स्थानीय तहमा सिआइसिटिटी (Case Investigation and Contact Tracing Team)  गठनका लागि निर्देशिका जारी गरेको छ । 

मन्त्रालयको आपतकालीन योजनामा शंकास्पद, संभावित र पुष्टि भएका बिरामीको केस अनुसन्धान र निजका कन्ट्याकमा आएकाको खोज पड्ताल गर्न हरेक स्थानीय तहमा प्राविधिक जनशक्ति रहेको यस्तो टिम गठन गरी परिचालन गर्ने निर्णय गरेको थियो। 

तर २ वटा नगर र १० वटा गाउँपालिका भएको गुल्मीमा भने गाउँपालिकाका स्वास्थ्य संयोजकहरुको नेतृत्वमा छत्रकोट र मदाने गाउँपालिका बाहेक अन्यले हालसम्म गठन नै गरेका छैनन्।

मदानेमा तीर्थराज पन्थीको संयोजकत्वमा र छत्रकोटमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा सिआईसिटिटी गठन भएका त्यहाँका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिएका छन्। निर्देशिकाअनुसार गाउँपालिकामा एउटा टिम, नगरपालिकामा २ वटा टिम, उपमहानगरमा ३ वटा र महानगरमा ५ वटा टिम गठन गरी परिचालन गरिने उल्लेख छ। 

गुल्मीका २ नगरपालिकाले टिम गठन प्रक्रियामा रहेका जनाएका छन् । मुसिकोट नगरपालिकाले भने भोलि आइतबार गठन गर्ने स्वास्थ्य शाखाका प्रमुख डिबी जिशीले जानकारी दिए । अन्य स्थानीय तहले भने गठन प्रक्रियामा रुचि देखाएको भने पाइएको छैन। ती स्थानीय तहले स्वास्थ्य अधिकृत नभएको कारण देखाएका छन्। 

टिमका प्रमुख कामहरु केके हुन् ? 

यसरी स्थानीय तहमा गठन गरिएका टिमका मुख्य काम घटना अनुसन्धान कन्ट्याक ट्रेसिङ, परामर्श, फलोअप तथा रेफर हुन्। यसका अलावा नमुना संकलन तथा दु्रत परीक्षण गर्ने, सुपरीवेक्षण तथा अनुगमन गर्ने, तथ्यांक संकलन प्रविष्टी विश्लेषण तथा प्रतिवेदन तयार, संचार समन्वय र सहकार्य, स्थानीय तहमा संचालित स्वास्थ्य सेवाहरुमा आवश्यक प्राविधिक सहयोग, अन्य सरुवा रोगहरुको प्रकोप व्यवस्थापन कार्य पनि यो टिमले गर्ने गर्छ। 

निर्देशिकामा स्थानीय सरकार, प्रदेश सरकार र आर्थिक व्यवस्थापनलगायत उल्लेख गरिएको छ। 

के छ गठन प्रक्रिया ?

प्रत्येक स्थानीय तहमा गठन हुने टिममा जनस्वास्थ्य अधिकृत (कम्तीमां जनस्वास्थ्यमा स्नातक गरेको) एक जना, ल्याब असिस्टेन्ट र एक जना नर्स हुनुपर्ने निर्देशिकामा उल्लेख छ। 

‘मन्त्रालयले तोकेअनुसारको जनशक्ति छैन’

मन्त्रालयले तयार गरेको निर्देशिकाअनुसार स्थानीय तहमा म्यानपावर नभएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । प्रमुख डाक्टर भवानीप्रसाद शर्माका अनुसार जनस्वास्थ्यमा स्नातक गरेका व्यक्ति जिल्लाका स्थानीय तहमा नभएकाले गठन नगरिएको उनले बताए। जिल्लामा सबै अहेब रहेको भन्दै स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकको संयोजनमा गठन गर्न लागेको उनले बताए । 

जिल्लामा रहेका ल्याब टेक्निसियन तथा असिस्टेन्टहरुलाई तालिम दिए पनि उनीहरुको कुनै अर्थ नरहेको उनले दाबी गरे । उनीसंग  टेलिफोन सम्पर्क गर्दा आफू अहिले जिल्लाको दुर्गम गाउँपालिका कालीगण्डकीमा गाउँपालिकाका अध्यक्ष र कवारेन्टाइनमा रहेकाहरुको स्वाब संकलनका लागि गएको बताए । 

‘स्थानीय तहमा नभए प्रदेशमार्फत माग गर्नुपर्छ’

स्थानीय तहहरुमा जनस्वास्थ्यमा स्नातक गरेको जनशक्ति नभए प्रदेशमार्फत संघमा माग गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। 

स्थानीय तहहरुले आफैं भर्ना गरेर पनि राख्न सक्ने र नभए प्रदेशमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने र सोही अनुसारको जनशक्ति उपलब्ध गराइने देवकोटाले दाबी गरे । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.