दुई सातामै थपिए एक सय संक्रमित

|

भद्रपुर : प्रदेश १ का जिल्लासहित स्थानीय तहमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा स्वाब संकलन धमाधम भइरहेको छ।

दुई साताको अवधिमा एक सय संक्रमित पुष्टि भएको कचनकवलमा भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अहिले धमाधम स्वाब संकलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। 

शुक्रबार र शनिबार गरी दुई दिनमा २ सय ७५ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको उनले बताए। उनका अनुसार गाउँपालिकामा ६ वटा क्‍वारेन्टाइन निर्माण गरिएको छ। भारतबाट आएर क्‍वारेन्टाइनमा राखिएका साढे ४ सय जनाको स्वाब संकन भइसकेको छ। 

‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय गरी करिब एक सय जनाको पनि थप स्वाब संकलन गरेका छौँ, त्यसमध्ये अहिलेसम्म ३ सय ७ जनाको पिसिआर रिपोर्ट आइसकेको छ, एक सय जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो,’ उनले भने।’

शुक्रबार जानकी मावि पाठामारीमा १० जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ४८ जना र लक्ष्मी मावि बनियानीमा २१ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी १ सय ५२ जनाको स्वाब संकलन गरिएको छ। 

शनिबार बुद्ध आधारभूत विद्यालयमा ३८ स्वास्थ्य कर्मी र सुरक्षाकर्मी गरी ७३ जनाको स्वाब संकलन गरिएको उनले बताए। उनका अनुसार पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेन्टाइनमा बसेका ३३ जनाको रिपोर्ट पोजेटिभ आएपछि त्यहाँ बसेका १० जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ७४ जनाको स्वाब पुनः संकलन गरी पठाइएको छ। 

अब गाउँपालिकामा ७४ र २ सय ७५ गरी ३ सय ४९ जनाको रिपोर्ट आउन बाँकी छ। क्‍वारेन्टाइनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन्। 

संक्रमित ओसार्ने बस रिजर्भ

कचनकवल गाउँपालिकामा कोरोना संक्रमितको सङ्ख्या दिनैपिच्छे थपिरहेको छ। उनीहरूलाई उपचारका लागि धरान वा विराटनगर पठाउन गाउँपालिकालाई समस्या भइरहेको थियो। 

एकै पटक १० देखि २७ जनासम्म संक्रमित थपिँदा उनीहरूलाई उपचारका पठाउने सवारीसाधन नपाउँदा गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि घण्टौँ एम्बुलेन्स कुर्नुपर्ने बाध्यता थियो। त्यसैले गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट रकम छुट्टाएर कोरोना संक्रमित ओसार्न एउटा यात्रुबाहक बस एक महिनाका लागि भाडामा लिएको छ। 

गाउँपालिकामै रहेको मे१ख २४६७ कोहिनुर यातायातलाई मासिक ९० हजार तिर्ने सर्तमा भाडामा लिएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए। 

‘गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स छ, त्यसमा एकै पटक संक्रमित पठाउन सकिएन, अरू एम्बुलेन्स पनि आउन मान्दैनन्, आए पनि घण्टौँ कुर्नुपर्ने हुन्छ,’ त्यसैले गाउँकै युवालाई सहज रूपमा उपचारका लागि पठाउन बस भाडामा लिएका हौँ,’ उनले भने।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.