आइतवार १६६ जनामा संक्रमण पुष्टि

|

काठमाडौं : नेपालका कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। आइतवार देशका विभिन्‍न ल्याबबाट आएको नतिजा अनुसार १६६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतवार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट थपिएका छन्।

थपिएका संक्रमितहरुमा १६२ पुरुष र ४ जना महिला रहेका छन्। प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण पाइएको छ। जसमा तनहुँका एकजना र स्याङ्जाका दुईजना रहेका छन्।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साकै ५ जना संक्रमित भेटिएका छन्। उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना नयाँ संक्रमित थपिएका छन्। जसमा कालिकोटको शुभमालिका गाउँपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी कालिकोटकै महावैका ६ जना संक्रमित थपिएका छन्। 

जुम्लामै गरिएको परीक्षणमा दैलेखका ५ जना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना संक्रमित भेटिएका छन्। जसमा सल्यानका २५ जना र सुर्खेत बराह तालका एकजना रहेका छन्। 

धुलिखेलको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजनामा पोजेटिभ देखिएको छ। भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना पोजेटिभ भेटिएका छन्। जसमा बाँके नरैनापुरका २ जना, खजुराका १ जना, नेपालगञ्जका ४ जना र बाँकै बैजनाथपुरका १ जनासहित छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ देखिएको छ। उनीहरु सबै सप्तरी राजगढका रहेका छन्। 

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन्। जसमा बाजुरा अस्पतालमा ज्यान गुमाएकी २ वर्षीया बालिका र उनकी आमा पनि छन्। 

कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चारजना र विराटगरकी एकजना महिलामा कोरोना पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परीक्षणमा धनुषाको मुखियापट्टीका २१ जनामा संक्रमित भेटिएका छन्। कपिलवस्तु महाराजगञ्जका ४ जना नयाँ संक्रमित भेटिएका छन्। 

त्यस्तै रौतहतका २९ जना र सर्लाहीका १० नयाँ संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ। 

देवकोटाका अनुसार  प्रदेश नम्बर १ मा १ सय ३५, प्रदेश नम्बर २ मा ५ सय १९, बागमती प्रदेशमा १४ र गण्डकी प्रदेशमा २० जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ९, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा २० जना गरी १ हजार ३ सय ४९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताए।

पीसीआर विधिबाट अहिलेसम्म ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै देशभर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्रा देवकोटाले बताए। प्रदेश नम्बर १ मा कुल ३ हजार ५ सय ३६ जना, प्रदेश नम्बर २ मा १९ हजा ९ सय ८३ जना, बागमती प्रदेशमा २ हजार ४ सय २३, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४, प्रदेश ५ मा ३५ हजार, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ र सूदुरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.