|

पर्सा :  प्रदेश २ मा पहिलोपटक कोभिड अस्पताल बनेको वीरगञ्जको नारायणी अस्पतालले पुनः जनरल सेवा दिन थालेको छ। गएको १२ गते नारायणी अस्पतालमा उपचारार्थ सबै कोरोनाका संक्रमित निको भएर डिस्चार्ज भएपछि नारायणीले आइतबारबाट जनरल सेवा सञ्चालन गरेको हो।

यो बीचमा अस्पताललाई सेनिटाइज गर्नेदेखि डिसिन्फेक्ट (किटाणुरहित) गर्ने काम भएकोले लगत्तै सञ्चालन गरिएको थिएन। आइतबार डाइलाइसेस सेवाबाट काम अगाडि बढाउन थालिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले बताए। अब क्रमिक रुपमा दूरी कायम गरी बहिरंग सेवा संचालनमा ल्याइने छ। वहिरंग सेवाका लागि पनि हरेक विभागमा सुरुका दिनमा २५ जनाका दरले सेवा दिइने छ उनको भनाइ छ।

अन्तरंग सेवा सञ्चालनमा अरू कुर्नुपर्ने

इमर्जेन्सी सेवा लिन आएका बिरामीलाई पनि अन्तरंग सेवा दिन भने अझै केही दिन लाग्ने अस्पतालले जनाएको छ। यो बीचमा सेवाग्राहीलाई अर्को अस्पतालमा भर्ना गर्नुको विकल्प छैन। यसको लागि अस्पताल क्षमाप्रार्थी छ मेसु डा. उपाध्यायले भने।

गएको चैत ३० गते प्रदेश नम्बर २ मा पहिलो पटक वीरगञ्जमा कोरोना संक्रमण पुष्टि भएका थिए। ती बिरामीलाई वीरगञ्जको नारायणी अस्पतालले नै सेवा दिन थाल्यो। लगत्तै बैशाख २ गतेबाट अस्पतालले साविकका सबै जनरल सेवा बन्द गरेको थियो। सो क्रममा अस्पताल विकास समितिका धेरै कर्मचारी समेत हटाइएकोले अब अस्पताल पूर्ण डिसिन्फेक्ट गर्ने र कर्मचारी व्यवस्थापन सहितको व्यवस्था गर्दै क्रमिक रुपमा सेवा बढाउँदै जाने नारायणी अस्पताले जनाएको छ।

विकल्पमा वीरगञ्जमा अलग्गै कोभिड अस्पताल

नारायणी अस्पतालकै अस्थायी नामले वीरगञ्जको गण्डक अस्पताललाई कोभिड विशेष अस्पताल बनाइएको छ। त्यो अस्पतालको अनुगमन र नारायणीलाई साविककै रुपमा संचालन गर्ने काम नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको टोलीबाट भएपछि नेपाल सरकारको स्वीकृतिसमेत प्राप्त भइसकेको छ।

कोरोनाका बिरामीलाई सेवा दिन सुरुमा कुनै निजी अस्पताल तयारी नभएपछि नेपाल सरकारकै निर्णयबाट जनरल सेवा बन्द गरी नारायणीमा कोरोनाका बिरामीलाई सेवा दिइएको थियो।

जनरल अस्पताल बनाउन सबैको माग

यो अस्पताललाई जनरल अस्पताल बनाउन सत्तापक्षीय नेकपाका नेतादेखि नेपाली कांग्रेस जनता समाजवादी पार्टीसहितले माग गरेका थिए। लकडाउनको समयमा विपक्षमा रहेको कांग्रेसले जनताको मन जित्न सडक आन्दोलन पनि ग¥यो। उता जनता समाजवादी पार्टीका केही नेता कार्यकर्ता आफ्नै घरमा  धर्नामा बसेका थिए।

सत्तापक्ष नेकपाका नेताहरुहरु भने सिधै स्वास्थ्य मन्त्रालय लगायतका केन्द्र सरकारका मन्त्रालय र मन्त्रीकहाँ पुगी लविङ्ग गरेर नारायणीलाई कोभिड अस्पतालबाट पुनः जनरल अस्पताल बनाउन पहल गरेका थिए। त्यसैको परिणाम स्वरुप कोभिड अस्पतालका रुपमा संचालनमा रहेको वीरगन्जको नारायणी अस्पताल मुलुकमा नै पहिलो पटक कोभिड जनरल अस्पतालमा परिणत भएको छ।

महानगरको पहल पनि सकारात्मक

यो अवधिमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पनि नारायणी अस्पतालको विकल्पमा वीरगञ्जमा नै रहेको निजी अस्पताल मध्येको गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउन पहल गरिरहेको फलस्वरुप गएको बैशाख ६ गते गण्डक अस्पतालका संचालक रहवर अंसारीले आफ्नो अस्पताल महानगरपालिकाको जिम्मामा रहेने गरी लिखित सहमति जनाएका थिए।

त्यही सहमतिअनुसार नेपाल सरकारको तर्फबाट वीरगञ्जका निजी अस्पतालको अवस्था बुझ्न आई गण्डक अस्पतालमा कोभिड चलाउन सकिने निष्कर्ष सहित सुरुको निर्णय परिवर्तन गरी गण्डक अस्पताललाई नारायणी अस्पतालकै नामले अस्थायी कोभिड अस्पताल बनाउन स्वीकृति दिएको हो। गण्डक अस्पतालको स्वास्थ्यतर्फको नारायणी अस्पतालले र आर्थिक पक्ष वीरगञ्ज महानगरपालिकाले गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.