|

पाल्पा : जिल्लामा पहिलो पटक तीन जना कोरोना संक्रमित भेटिएका छन्। 

रैनादेवी छहरा गाउँपालिका ७ बल्ढेङ्गढी र ८ सत्यवतीका ३८ र ४० वर्षका पुरूष र माथागढी गाउँपालिका ८ बहादुरपुरका १९ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमुख विश्व न्यौपानेले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश ५, जनस्वास्थ्य प्रयोगशाला भैरहवाले कोरोना पुष्टि गरेको हो। 

जेठ १० गते राति सुनौली नाका हुँदै भारतबा पाल्पा आएका उनीहरू क्वारेन्टाइनमा बसेका थिए। २ जना रैनादेवी छहरा गाउँपालिका ४ छहरास्थित भैरव नवदीप माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए भने एक जना माथागढी गाउँपालिका बहादुरपुरस्थित बालविकास आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए। 

उनीहरूसहित एकै पटक ७६ जना सुनौली नाका हुँदै तानसेनको होल्डिङ क्वारेन्टाइनमा आएका न्यौपानले बताए। उनीहरूसँग आएकाको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ। संक्रमित उनीहरूलाई तानसेन नगरपालिका–१ भुसडाँडामा निर्माण गरिएको आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। 

पछिल्लो समयमा भारतबाट आएका २ सय ७१ जनाको पिसिआर परीक्षण गर्न भैरहवा पठाइएको थियो। जसमध्ये २ सय ५७ को नेगेटिभ, ३ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने ११ जनाको रिपोर्ट आउन बाँकी रहेको निमित्त प्रमुख न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.