शव व्यवस्थापनमा आफैं खटिए नगरप्रमुख

|

डडेल्धुरा : कोरोना संक्रमणका कारण मृत्यु भएकी बाजुराको बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको शव नेपाली सेनाले गाडेको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारीका अनुसार सरकारले जारी गरेको शव व्यवस्थापन निर्देशिका बमोजिम समरजित गुल्मका नेपाली सेनाको टोलीले बालिकाको शव गाडेको हो।

ती बालिकाको शव बडिमालिका नगरपालिका ६ को नुनेपानीमा गाडिएको उनले जानकारी दिए।

जिल्ला अस्पतालको आइसोलेसन कक्षबाट बडिमालिका नगरपालिकाको टिपरमा बालिकाको शव पलास्टिकमा बेरेर लगिएको थियो। डोजरले खाल्डो खनेर मृतक बालिकाको शवलाई गाडिएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए।

आठ दिन अघि आमाबुवासँगै भारतबाट फर्किएकी ती  बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि धुरालसैन माविको क्वारेन्टाइनबाट उपचारका लागि जिल्ला अस्पतालको आइसोलेसन भर्ना गरिएको थियो। बालिकाको आइतबार बिहान साढे २ बजे अस्पतालमै मृत्यु भएको थियो।

मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो। बालिकाको कोरोना परीक्षणको रिपोर्ट भने मृत्यु भएपछि मात्र आएको थियो। 

उनीसँगै २३ वर्षीया आमामा पनि कोरोना संक्रमण देखिएको छ। आमाको अहिले जिल्ला अस्पतालकै आइसोलेसनमा उपचार भइरहेको छ।

संक्रमित बसेको धुरालसैन माविको क्वारेन्टाइन सिल गरिएको छ।  आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ रोकथाकम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले सिल गर्ने निर्णयअनुसार क्वारेन्टाइन सिल गरिएको सहायक प्रजि भण्डारीले जानकारी दिए।

शव व्यवस्थापनमा नगरप्रमुख

कोरोनाबाट संक्रमितको मृत्युपछि शव व्यवस्थापन गर्न समस्या भइरहेको बेला बाजुरामा भने नगरप्रमुख आफैं शव गाड्ने स्थलमा पुगेका छन्। बडिमालिकाका नगरप्रमुख पदम बडुवाल शव व्यवस्थापनमा मात्रै लागेनन् गाड्ने ठाँउमा पुगेर शव व्यवस्थापनमा सहयोगी भूमिका खेलेका छन्।

बालिकाको मृत्युपछि शव कसरी व्यवस्थापन र  कहाँ गर्ने जिल्लास्थित सरोकारवालाबीच छलफल भएको थियो। नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका ६ राप्क नजिकै बूढीगंगा नदिमा छेउमा रहेको नुनेपानीमा शव गाड्ने प्रस्ताव ल्याएका थिए।

त्यहीँ प्रस्ताव अनुसार शव व्यवस्थापन गर्ने योजना बनेको थियो। अन्य जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न असहज बनेको खबर आइरहेका बेला बाजुरा भने सहजै रुपमा शव  व्यवस्थापन गरिएको छ।

नगरप्रमुख बडुवाल र जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंकप्रसाद भट्टराई शव गाड्ने ठाँउमा पुगेर लासको व्यवस्थापन गरेका थिए।

'डोजर लग्यौ, डोजरले खाल्डो खनेर त्यसैमा हालेर उनको शव पर्‍यौं।' नगरप्रमुख बडुवालले भने, 'त्यहाँ व्यवस्थापन गर्न र अर्को त्यहाँका स्थानीयसँग समन्वय गर्न आफैं शव गाड्ने ठाँउमा पुगेको हुँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.