असली समाजवाद संविधानमा लेखिएको रहेनछ

|

जहाँ सबैले कर्म गर्छन र आफुले जानेको कला, सिप प्रयोग गरेर समाजको आवश्यकता पुरा गर्दै समाज चल्ने गर्दछ। जमिन हुनेले खनी खोस्री गरेर आफ्नो माटो सुहाउँदो उब्जनि गर्छन। सबैको जमिन एकै खाले हुँदैन, त्यसैले जसकोमा जे जे फल्छन् एकअर्कासंग बाँडेर आ-आफ्ना आवश्यकता पुरा गर्छन।

समाजमा आफ्नो जमिनमा साग मात्र उम्रने तर बजारमा साग निकै सस्तो भएका कारण आफ्नो जमिनमा न उब्जिएको महँगो प्याज, लसुन, अदुवा, आदि खानै नपाउने भन्ने हुँदैन। छिमेकीको जमिनमा फालेका केराका घरि पाक्दा आफुले पनि खान पाउने र आफ्ना घरका आँप, लिची छिमेकीलाई खान दिने चलन हुन्छ । आफु संग जे सिप छ, त्यो सिप प्रयोग गरेर समाजमा अरुको मद्दत गरेर आफ्ना आवश्यकताहरु पुरा गर्ने चलन हुन्छ । 

छरिएर रहेका, भौतारिरहेका जनशक्तिको पहिचान गरि सहि ठाउँमा उपयोग गर्नु जनप्रतिनिधिहरुको दायित्व हो। जनप्रतिनिधिहरु जागिरे होइनन, नेता हुन् । मतदाता वा आफ्ना कार्यकर्ताले यस्तो गर्नुस उस्तो गर्नुस भनेको भरमा उनीहरुलाई खुसी बनाउन कार्यक्रम ल्याउने होइन। आफ्नो योजना र दृष्टिकोण बुझाउन सक्ने नैं नेता हो ।

समाजवादी पिकनिक

हिजोको वनभोज अर्थात पिकनिक र आजको पिकनिक तुलना गर्दा गजब लाग्छ। हिजो आयोजना गरिने पिकनिक पनि समाजवादी नै पो रहेछ। हाम्रो समाजको परिवर्तन त्यहिँबाट देख्न सकिन्छ। हिजोको पिकनिक कस्तो हुन्थ्यो:  न बस थियो न पेट्रोल/डिजेल, गाउँमा सिर्फ गोरु-गाडा (बयल गाडा) मात्र चल्थे। हामी हिडेरै नजिकैको जंगल वा खोला किनार जाने गर्थ्यौं। जस जसको घरमा जे जे छन, सबैले आ-आफ्नो क्षमता अनुसार लिएर जाने गर्थ्यौं। सस्तो/महँगो/धेरै/थोरै को हिसाब हुँदैन थियो।

गाउँमा ग्यासको नाममा गोबर ग्यास उत्पादन हुन्थ्यो । त्यसैले, घरबाट दाउरा लिएर गइन्थ्योवा उतै मिलेर खोजिन्थ्यो।  थाल, बटुका, चम्ची, गिलास, कराई सबै चाहिने भाँडाकुँडा घरकै हुन्थे। सबै पुन:प्रयोग हुन्थे।  ढुवानीका लागि गाउँमै बनेका डोको नाम्लो प्रयोग हुन्थ्ये। आ-आफ्नो रुचि, इच्छा र विज्ञता अनुसारको कार्य विभाजन हुन्थ्यो। केहि न आउनेलाई पनि संगै राखेर रुचि अनुसार काम गर्न सिकाइन्थ्यो। गाउँमै बनेको मादल, बाँसुरी हुन्थ्यो।

तिनै बाजागाजा बज्थे, नाच्ने गाउने हुन्थ्यो। यसरि कुनै गुनासा नभई हर्सोल्लासका साथ पिकनिक मनाइन्थ्यो। आजका पिकनिक कस्ता हुन्छन भन्ने त सबैले देखिरहेकै हो । आफै तुलना गर्नुस। आफ्नो जीवन जीउने पद्दति कस्तो छ सबैले आफुलाई सम्झनुहोस। नेपाली समाज जब जहाँ कम शिक्षितहरुको बसोबास छ/थियो भनिन्छ त्यति/त्यति बेलाको समाजको चित्रण हो यो, त्यही बेलाको पिकनिक हो यो।

समाजवादको अवसान

आजको समाज त झनै शिक्षित भनिन्छ, उच्च शिक्षा हाँसिल गरेका थुप्रै मान्छे हाम्रो समाजमा बस्छन। तर हाम्रो समाज समाजवादी छैन। स्वतन्त्रता अपरिहार्य छ तर अनुशासन बिनाको स्वतन्त्रता ।

कसैले हाँसिल गरेको ज्ञानको मुल्यांकन पनि उसको सम्पत्ति/कमाइका आधारमा हुने गर्छ। जो संग बढि पैसा छ, उ नै र उ मात्र सफल भन्ने सोचाइ छ अहिलेको समाजमा। यहाँ के इंगित गर्न खोजिएको हो भने हामीले ग्रहण गरेको वा गराउदै गरेको शिक्षा, हाँसिल गरेको डिग्रिले हामीलाई समाजवादको अवसान तिर उन्मुख गराइरहेको छ।

शिक्षा अत्यन्त महँगो छ। शिक्षामा गरेको लगानी उठाउन सबैजना पैसाको पछि दौडिएका छन। सिप र कलाको पनि मूल्य छ। जो संग पैसा छ उ संग मात्र सबै थोक हुन्छ। उसले मात्र आफ्ना आवश्यकताहरु पुरा गर्ने सामर्थ्य राख्छ। परिश्रम गर्ने, उत्पादन गर्नेले भन्दा दलाली गर्नेले पैसा कमाउँछ।

नेतामा परिवर्तनको खाँचो

त्यसैले, अब दिशा मोड्न जरुरि छ किनकि संबिधानमा लेखिए अनुसारको समाजवादको यात्रा वर्तमान प्रणालीबाट लगभग असम्भव छ। आजको भोलि यो सँच्याएर लिएर जान पनि सकिदैन। यसका लागि धेरै समय लाग्छ। समय भन्दा बढि र पहिले दृढ इच्छा शक्तिको खाँचो छ। विभिन्न सिप, कला बोकेर समाजमा धेरै मानिसहरु अवसरको खोजिमा छन। देश विदेशको अनुभव बोकेर राष्ट्रनिर्माणमा लागि पर्न धेरै नेपालीहरु आतुर छन्।

छरिएर रहेका, भौतारिरहेका जनशक्तिको पहिचान गरि सहि ठाउँमा उपयोग गर्नु जनप्रतिनिधिहरुको दायित्व हो। जनप्रतिनिधिहरु जागिरे होइनन, नेता हुन् । मतदाता वा आफ्ना कार्यकर्ताले यस्तो गर्नुस उस्तो गर्नुस भनेको भरमा उनीहरुलाई खुसी बनाउन कार्यक्रम ल्याउने होइन। आफ्नो योजना र दृष्टिकोण बुझाउन सक्ने नैं नेता हो ।

उनीहरुले आफ्नो वडा, आफ्नो निर्वाचन क्षेत्र, आफ्नो मुलुक कस्तो बनाउने भनेर पहिले परिकल्पना गर्नुपर्छ। आफ्नो वडा/मुलुकको हालको अवस्था कस्तो छ, आफ्नो शक्ति, कमजोरी, अवसर र खतरा पहिचान गरि कस्तो मुलुक वा समग्रमा कस्तो समाज (संविधान अनुरुप) बनाउन चाहेको हो त्यसको चित्रण स्पष्ट हुनु पर्दछ।

नेताले आफ्नो भिजनका पछाडी, मुलुकको संविधान कार्यान्वयनको दिशामा उपलब्ध जनशक्तिको उच्चतम प्रयोग गरि , आफ्ना कार्यकर्ता र समग्र समाजलाई पछि लिएर हिड्ने हो। आफु पपुलिष्ट भएर जयजयकार गर्ने कार्यकर्ताका वा सिमित वर्गको पछि हिड्ने होइन ।

बोक्रे शिक्षा र खोक्रो समाज

आज दिइने शिक्षाले नै भोलिको समाज कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्छ। राष्ट्रको रणनीतिक उद्देश्य र यसका प्रक्रियागत आवश्यकतालाई सहयोग हुने वा राष्ट्रको आवश्यकताका आधारमा पाठ्यक्रम निर्धारण गरि लागु गरिनु पर्ने अहिलेको प्रमुख प्राथमिकताको विषय हो।

हाल सरकारले गरेका एक एक काम सहि गलत भनेर मुल्यांकन गर्नुभन्दा आजको शिक्षा क्षेत्रमा रहेको चुनौती भनेको श्रम र शिक्षालाई, समाज र शिक्षालाई, संविधान र शिक्षालाइ जोड्न नसक्नु नै हो । यसै कारणले हाम्रो समाज बिग्रदो छ। दक्ष जनशक्ति विदेशिदै छन ।

बोक्रे शिक्षाले र हाम्रो समाज खोक्रो बनिरहेको छ। त्यसैले अबको शिक्षा नितीमा आमुल परिवर्तनको खाँचो छ। औपचारिक शिक्षाको पाठ्यक्रम निर्माण यसरि गरियोस, अब यस्ता नीति तथा कार्यक्रम ल्याइयोस जसले जीवन बुझ्न सिका जीउने कला, मेलमिलाप, अनुशासन सहितको स्वतन्त्रता, अधिकार खोज्न सिकाउनु पर्छ।

शिक्षाले अरुको अधिकार मिच्न/दबाउन होइन कर्तव्य पालना गर्न हौसला दिनुपर्छ। राष्ट्रलाई माया र कामलाई सम्मान गर्न प्रेरित गरोस। जिम्मेवारी बहन गर्न सिकाओस। उपभोगमुखी हैन आवश्यकता अनुरुप जीवन जीउन प्रेरित गरोस। श्रोत साधन र सम्पत्तिको दुरुपयोग हैन उचित उपभोग गर्न ज्ञान देओस। दीर्घकालिन विलाश हैन दिर्घकालिन विकास तर्फ सबैलाई केन्द्रित गरोस।

अहिले हामीले भनिरहेको समाजवाद कुनै पार्टी विशेषको राजनैतिक कार्यक्रम होइन । संविधानमा नैं उल्लेख गरिएकोले यो सारा देशवासीको साझा उद्देश्य हो। त्यसैले, सत्तामा जुनसुकै दल भएपनि यसले ल्याउने नीति, कार्यक्रम, बजेट, आदि, यसले गर्ने विकास सबै समाजवाद उन्मुख र सबै नेपालि समाजलाई समाजवाद अभ्यास गराउने तर्फ हुनु पर्दछ । नत्र यो संविधानमा लेखेर मात्र त कितावको भाण्टा सरह हुने छ । जसको चित्र हेरेर कसैको छाक टर्दैन ।

 ( लेखक काठमाडौं विश्वविद्यालयका लेक्चरर हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.