|

एजेन्सी : थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन। देशभरका विभिन्न सहरमा प्रदर्शन भएपछि हिंसा थप भड्किन नदिन त्यहाँका स्थानीय सरकारहरुले करिब ४० सहरमा कर्फ्यू आदेश जारी गरेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौंलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। 

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो। उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो। 

सयौँ मानिसहरूले ४६ वर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए। देशभरका झण्डै १ सय ४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन्। 

गत ६ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरबाट प्रहरीले दुई हजार ५ सय ६४ जनालाई पक्राउ गरेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ भने दोषीलाई कारबाही गरिने र आन्दोलनमा नउत्रन सरकारी अधिकारीले आग्रह गर्दै आएका छन्।

प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरे पनि प्रदर्शनकारीलाई नियन्त्रण गर्न कठिन परिरहेको छ। जर्जियास्थित सिएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए। 

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ। चौविन र थप तीन प्रहरीलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ। 

घटनाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिएका छन। उनले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.