|

डडेल्धुरा : डडेल्धुराका पहिलो कोरोना संक्रमित युवक कोरोना जितेर घर फर्किएका छन्। परशुराम नगरपालिका–१० का २८ वर्षीय उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि १० दिनमै घर फर्किए। 

उनलाई सोमबार दिउँसो डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए।

उनलाई दुई साता अलग्गै बस्न डा विष्टले सुझाव दिए। जिल्ला सदरमुकाममा बस्दै आएका उनी अस्पतालको एम्बुलेन्समाफर्त परशुराम नगरपालिका–१० मा रहेका घर गएका हुन्।

जेठ ६ गते स्क्रब टाइफसको उपचार गराउन डडेल्धुरा अस्पतालबाट ती युवा फर्केको र सोही दिन उनको स्वाब संकलन गरिएको थियो। सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। 

डडेल्धुरा अस्पतालको आइसोलेसन कक्षमा राखेर उनको उपचार हुँदै थियो। उनको आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको छ। 

डिस्चार्ज भएपछि प्रतिक्रिया दिँदै उनले सकरात्मक सोच र आत्मविश्वासले कोरोनालाई जित्न सक्ने बताए। ‘युवालाई त त्यति धेरै कोरोनाको प्रभाव नपर्ने रहेछ। सुरुवातमा पोजेटिभ आउँदा अलि डराएको थिएँ।’ उनले भने, ‘डाक्टर र अन्य साथीले मलाई डराउनु पर्दैन भन्नुभयो। स्ट्रङ हुनुपर्छ भन्ने सुझाव आउँथ्यो। म त्यहीँमा अडिग रहें। मैले सकरात्मक सोचें। त्यहीँ सकरात्मक सोच र आत्मविश्वासले मैले कोरोनालाई हराउन सफल भएँ।’

उनले अस्पताल बसाइँको क्रममा कुनै समस्या नभएको प्रतिक्रिया दिए। उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाएको उनले बताए।  

‘मलाई लक्षणहरू पनि देखिएको थिएन। म कोरोनालाई जित्छु भन्ने लागेको थियो। र, आज जितेरै छाडें।’ उनले भने, ‘डाक्टरसा’पहरु राम्रै व्यवार गर्नुभयो। फोन गरेर मेरो अवस्थाबारे जानकारी लिनुहुन्थ्यो।’ अस्पालमा बस्दा बिहानै उठेर योगा समेत गर्ने गरेको उनले सुनाए।

उनी घर फर्किएसँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उपमहानगर–५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए। वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। उनी वीरगञ्जबाट कैलाली आएकी थिइन्। उनीहरू पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.