भक्तपुर : लकडाउन नहुन हो भने यति बेला देशभरका विद्यालयहरुमा धमाधम पठनपाठन भइरहेको हुन्थ्यो। विद्यार्थीका हातहातमा नयाँ किताब हुन्थे।
तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकमा लकडाउन भएको दुई महिनाभन्दा बढी भइसक्यो। यसले सबै क्षेत्रलाई असर पारेको छ। यस असरबाट विद्यालय स्तरको पुस्तक छाप्ने सरकारी निकाय भक्तपुरको सानोथिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रलाई परेको छ।
केन्द्रले लकडाउनकै कारण यस वर्ष बेलैमा पाठ्यपुस्तक छाप्ने काम सकेन। यतिबेला पनि धमाधम छापिरहेका छ। यसवर्ष एक करोड ९७ लाख पुस्तक छाप्ने लक्ष्य राखेको केन्द्रले १ करोड ८० लाख पुस्तक छापिसकेको जनाएको छ।
गतवर्ष एक करोड ८० लाख पुस्तक छापेको केन्द्रले एक करोड ६८ लाख बिक्री गरेको जानकारी दिँदै केन्द्रका अर्थ विभागका कार्यकारी प्रमुख एवं केन्द्रका सूचना अधिकारी चित्र आचार्यले यस वर्ष गतवर्षको तुलनामा १० प्रतिशत बढी पुस्तक छाप्ने लक्ष्य राखेको जानकारी दिए। उनले भने, ‘पुस्तक छाप्ने करिव करिव अन्तिम चरणमा पुगेको छ। अहिले लक्ष्य अनुसार कक्षा ६, ७ र ८ का केही पुस्तक मात्र छाप्न बाँकी रहेको छ।’
जनक शिक्षाले कक्षा ५ देखि १० सम्मको पाठ्य पुस्तक छाप्दै आएको छ। लकडाउनका कारण करिव एक महिना किताब छपाईमा असर गरे पनि बैशाख दोस्रो सातादेखि नियमित पुस्तक छपाइ भइरहेको आचार्यले बताए। उनले कोरोना भाइरसको प्रभावलाई ध्यानमा राखेर कामदारहरुबीच स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरी छपाइको कार्यलाई निरन्तरात दिएको जानकारी दिए। केन्द्रमा अहिले कक्षा ७ को विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षाको किताब छपाइ भइरहेको छ। यसबाहेकको पुस्तक मुलुकका ७७ वटै जिल्लामा पु¥याइसकेको केन्द्रले जनाएको छ।
प्राथमिक विद्यालय अन्तर्गत कक्षा १ देखि ४ सम्मका पुस्तक भने निजी छापाखानाले छाप्दै आएका छन्। रंगिन र सचित्र छाप्नु परेकाले शिक्षा मन्त्रालयले उक्त तहका पुस्तक निजी क्षेत्रलाई छाप्न दिए पनि केन्द्रले नै ती पुस्तक छाप्ने तयारी भइरहेको केन्द्रका प्रकाशन तथा प्रेस विभाग प्रमुख पर्शुराम भुजुले जानकारी दिए। उनले भने ‘हामीले नमूनाको रुपमा कक्षा १ को नेपाली पुस्तक यसवर्ष केही संख्यामा छापेका छौं। यो हाम्रो परीक्षण हो। यसमा सफल भएका छौं।’
जनक शिक्षाले आफ्ना ११ वटा केन्द्र मुलुकभरका एक हजार १०० वटा बिक्रेता मार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आइरहेको छ। केन्द्रको दैनिक एक लाख २५ हजार पुस्तक छाप्ने क्षमता रहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।