|

पाल्पा : पाल्पामा आइसोेलेसनमा उपचार गराइरहेका एक पुरुषको मंगलबार निधन भएको छ। पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवाको निधन भएको हो। 

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका उनको आज मध्याह्न साढे १२ बजे निधन भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराइले बताए। सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगतसमेत देखिएपछि उनी सोमबार बिहान मिसन अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

भट्टराइका अनुसार मृतकको दिशुवामा कोरोनाका केही लक्षण देखिएको थियो। तर अहिले सबै भन्न सकिने अवस्था छैन। पीसीआर विधिमार्फत स्वाब परीक्षणको लागि भैरहवा प्रयोगशालामा पठाइएको उनले बताए। रिपोर्ट आएपछि कोरोना भाइरस वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे खुल्ने भट्टराइले बताए।

उनी आइतबार नेपाल भारतबीचको सुनौली सीमा नाका हुँदै पाल्पा आइपुगेका थिए। भारतको मुम्बईबाट फर्किएका उनी आइतबार राति नै पूर्वखोला गाउँपालिकाको जल्पास्थित शम्भु माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए। 

राति पुगेका उनलाई बिमारीले च्यापेपछि अर्को दिन बिहानै मिसन अस्पताल पठाइएको गाउँपालिकाका प्रवक्ता निरबहादुर सारूले बताए। शव अहिले मिसन अस्पतालमै छ। पीसीआर रिपोर्ट नआउँदासम्म शव त्यहीँ रहने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 

पाल्पामा पछिल्लो समयमा ५ जनामा कोरोना पोजेटिभ भेटिएको छ। तर मृतक दिशुवा भने कोरोना संक्रमण पुष्टि भएका पाँच जनामध्ये पर्दैनन्। उनको स्वाब परीक्षण हुन बाँकी नै थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.