अनुगमन नभएको भन्दै प्रशासनकाे आलोचना

|

बारा : बकैया नदीमा अनुगमन नगरी फर्र्किएको भन्दै आलोचना भएपछि जिल्ला अनुगमन तथा समन्वय समितिले सोमबार अनुगमन गरेको छ। अनुगमनका क्रममा नदीमा सञ्चालित स्काभेटरको चाबी नियन्त्रणमा लिइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार निजगढतर्फ ६ र कोल्हवीतर्फ एक वटा स्काभेटरको चाँबी खोसिएको छ। 

चाबी नियन्त्रणमा लिइएका स्काभेटरको सम्बन्धमा जिल्ला अनुगमन समितिको बैठक बसेर सार्वजनिक गर्ने प्रजिअ पण्डितले जनाए। जिसस बाराका प्रमुख नवलकिशोर सिंहले बकैया पुल उत्तर र दक्षिण दुवैतर्फ अनुगमन गरिएको जानकारी दिए।

अनुगमन नगर्दा आलोचना

जिल्लाको टोली शनिबार नदी उत्खननका लागि निस्केको थियो। टोलीले बालगंगा र दुधौरा खोलाको अनुगमन गरे पनि निजगढमा आइपुगेको टोलीले बकैया खोलाको भने अनुगमन नगरी फर्किएको थियो। अनुगमन गर्न आएको टोली इलाका प्रहरी कार्यालय निजगढको छेउमै रहेको एक होटलमा खाना खाएर फर्किएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

टोलीमा जिसस बारा सभापति सिंह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख कृष्ण पंगेनी र सशस्त्र प्रहरी प्रमुख दिग्विजय सुवेदीलगायत थिए। सुदिपा ट्रेडर्सको सञ्चालक शंकर न्यौपानेले १० करोड ७७ लाख ७७ हजार रुपैयाँमा ठेक्का पाएको सो नदीमा पनि पटक–पटक मापदण्डविपरीत उत्खनन भए पनि कारबाही नभएको गुनासो आएको थियो। 

वातावरणीय प्रभाव मूल्यांकनविपरीत उत्खनन् भइरहँदा स्थानीय तहले कारबाही गर्न सकेका छैनन्। जिसस टोलीले प्रभावकारी अनुगमन नगर्दा बकैया पुल उत्तरपट्टिको ड्याम भत्किई गाउँमा खोला पस्ने खतरा बढेको भन्दै स्थानीय त्रसित बनिरहेका छन्। जिल्ला समन्वय समिति र जिल्ला सुरक्षा समितिलाई ठूलै रकमको प्रलोभनमा पारी ठेकेदार कम्पनीले चलखेल गरेर अनुगमन हुन नसकेको आरोप लागेको थियो। 

अनुगमनको पहिलै सूचना

जिल्लाबाट अनुगमन टोली आउनेबारे पहिल्यै सूचना बाहिरिने गरेको पाइएको छ। निजगढमा खोला उत्खननको निरीक्षण गर्न प्रशासकहरु आउनुअघि नै सबैलाई सूचना हुने भएकाले खोलामा सञ्चालित स्काभेटर, टिपर र ट्रयाक्टर निकालिने गरिएको छ। नियमसम्मत र प्रक्रियागत आवश्यकताका आधारमा सञ्चालन गरिएको भए किन खोला खाली गरिन्थ्यो भनेर स्थानीयले प्रश्न गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.