|

काठमाडौँ : सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर बिनाकाम सवारी चलाइरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ। 
आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै  एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ। 

मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १३५० वटा २ पाङ्ग्रे र १९५ वटा पाङ्ग्रे गरी जम्मा १,५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद  ढकालले बताए। उनले भने, 'आज बिहान ६ बजे देखि वेलुका ६ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएका हौँ।’

कोरोना भाइरसको रोकथाम तथा संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेको छ। 'लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर तपाईं हाम्रो सम्पुर्णको सुरक्षाका लागि हो', उनले भने, 'यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउनु जरुरी छ।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी सवारी साधन चेकजाँच गर्ने व्यवस्था मिलाएको छ। भित्री एरियाका लागि मोटरसाइकलमा ट्राफिक प्रहरी खटाइएको छ।

काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,२९९ वटा सवारी साधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ। 

पास हुनेमाथि निगरानी 

पास भएर पनि शान देखाउदैँ घुम्‍न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही थालेको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।

दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सडक प्रयोगकर्ताहरुसँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरी महाशाखाले पिपिई र फेस सिल्ड (भाइजर) सहित ड्युटी गराइरहेको छ। सामाजिक दुरी कायम राखी सुरक्षित भई चेकजाँचको व्यवस्था मिलाइएको प्रवक्ता एसपी श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.