|

काठमाडौं : नेपाल प्रहरीका १३ उच्च अधिकृतले सोमबारदेखि अवकाश पाउँदैछन्। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, १० प्रहरी अतिरिक्त महानिरीक्षक र दुई प्रहरी नायव महानिरीक्षकले एकै दिन अवकाश पाउन लागेका हुन्।  

फागुन २ गते ३० वर्षसम्म सेवा अवधि पूरा भएपछि प्रहरी महानिरीक्षक अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, यादव अधिकारी, विश्वराज सिंह शाही, परशुराम खत्री र सुशिलवरसिंह थापाले अवकाश पाउने भएका हुन्।

नेपाल प्रहरीमा सात वटा मात्र अतिरिक्त महानिरीक्षकको दरवन्दी भएपनि सुशील कोइराला प्रधानमन्त्री भएको बेला दुई वटा विशेष पद सिर्जना गरेर नौ जना अतिरिक्त महानिरीक्षक बनाइएको थियो। 

त्यस्तै बढुवामा वरियताक्रम मिचिएको भन्दै नायव महानिरीक्षकहरु अधिकारी, शाही, खत्री र थापाले मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले चारै जनालाई अतिरिक्त महानिरीक्षक बनाउन आदेश दिएपछि पछिल्लो पटक प्रहरीमा १० जना अतिरिक्त महानिरीक्षक भएका थिए। उनीहरु सबै जनाले एकै दिन सोमबार अवकाश पाउने भएका हुन्। 

यसैगरी नायव महानिरीक्षकहरु मनोहर रिमाल र श्याम खड्का पनि सेवा अवधिको कारण सोमबार नै घर अवकाश लिँदैछन्। उनीहरु सबै २०४३ सालबाट प्रहरी निरीक्षकबाट प्रहरी सेवा शुरु गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.