|
प्रतीकात्मक तस्बिर

डडेल्धुरा : डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो।

मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए।

‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ। उहाँ काप्दै हुनुहुन्थ्यो भन्ने बुझिएको छ। उहाँमा काप्ने लक्षण देखिएको रहेछ,’ विष्टले भने, ‘पछि गाउँबाट धामीझाँक्री आएको भन्ने बुझिएको छ। पछि लगत्तै उनको मृत्यु भएको हो।’

चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्। मंगलबार राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले पनि नछोएको स्रोतको भनाइ छ।

स्थानीयहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले नमानेको बताइएको छ। एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको जनाइएको छ।

अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले आफू घटनास्थलतर्फ गइरहेको र एक घन्टापछि मात्रै विस्तृतमा जानकारी दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.