'सांसदको पारिश्रमिक कटाएर पनि परीक्षण गरिदेओस्'

|

काठमाडौं : पछिल्लो केही सातायता कर्णाली प्रदेशको दैलेख जिल्ला कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। दैनिक गुजाराका लागि भारत गएकाहरू हजारौँको संख्यामा जिल्ला फर्केसँगै कोरोना भाइरसबाट प्रभावित हुने जिल्लाहरुको सूचीमा दैलेख अग्रस्थानमा देखिएको छ।

तथ्‍यांकअनुसार जिल्लाबाट करिब ७० हजार देशबाहिर गएको अनुमान छ। तीमध्ये हालसम्म करिब दश हजार जिल्ला भित्रिसकेका छन्। जसलाई परीक्षणबिनै क्वारेन्टाइनमा राखिएको छ। जसले गर्दा दैलेख कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेको कतिपयको अनुमान छ। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले दैलेखको क्षेत्र नम्बर २ बाट संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राजबहादुर बुढासँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश : 

दैलेख जिल्लामा कोरोनाको संक्रमण बढ्दो छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेको दुई हप्ता हुन लाग्दासमेत कोरोनाको परीक्षणसमेत हुन सकिरहेको छैन। यस्तो अवस्थामा तपाईंहरूले के गरिरहनुभएको छ

हामीले दैलेखमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान गर्नका लागि आवाज उठाउँदै आएका छौँ। यसबारे उच्चस्तरीय समितिको नेतृत्व गरिरहनुभएका रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर जानकारी गराएका छौँ। प्रधानमन्त्रीलाई पनि भनेका छौँ, तर स्वास्थ्यमन्त्रीसँग भेटघाट नै हुन सकेको छैन, उहाँ फोनसमेत उठाउनुहुन्न। स्वास्थ्यमन्त्रीको भूमिका नै देखिएको छैन।

संसदमा समेत बोलेका छौँ, तर सरकार सुन्दैन, हामी निराश छौं। यदि राज्यकोषमा पैसा छैन भने त्यहाँका जनप्रतिनीधि (वडादेखि संघीय सांसदसम्म), विधुवा, एकल महिला आदिको सुविधा काटेर भए पनि जिल्लामा सरकारले पिसिआर मेसिन राखिदेओस्। हाम्रा नागरिकको स्वास्थ्य परीक्षण होस्। त्यसका लागि हाम्रो निर्वाचन क्षेत्रमा जाने स्थानीय विकास पूर्वाधार कार्यक्रमको रकम हामी पिसिआर मेसिनका लागि खर्च गर्न तयार छौँ। तर यो सरकारीस्तरको कुरा हो।

चीनबाट या कोरियाबाट कहाँबाट अर्डर गर्नुपर्ने हो, स्टान्डर्र मेन्टन गरेर सरकारले ल्याइदिओस्। भन्ने हाम्रो माग हो, तर सरकार बेखबर जस्तै छ। सरकारले छिटो बजेट पास गरेर रिलिज गरोस् भन्ने हाम्रो चाहना हो। तर सरकार न आफू जान्छ, न भनेको मान्छ जस्तै भएको छ।  

दुल्लुका कतिपय वडामा आरडिटी नेगेटिभ देखिएकाहरूलाई घर पठाउने काम सुरु भएको छ। यस्तो काम किन गरियो? आरडिटी किट परीक्षण कोरोना संक्रमण भए/नभएको पुष्टि गर्ने अन्तिम माध्याम त होइन नि? 

मैले, कर्णाली प्रदेशको निर्णय हेरेँ, त्यो निर्णय गतल छ। त्यसबारे हामीले रक्षामन्त्रीलाई पनि भन्यौँ। तर रक्षामन्त्रीले समेत भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न नसकिने स्थिति भएपछि त्यसो गरिएको बताउनुभयो। यो काम केन्द्र सरकारको निर्देन बमोजिम भइरहेको रहेछ। उहाँले अहिले आरडिटी परीक्षण गरेर घर पठाऔं, पछि कोरोना देखियो भने कन्ट्याक्ट ट्रेसिङ गरिहालौ ला..नि...  भन्नुभयो। सरकारको यो निर्णयले संक्रमण तीव्र गतिमा बढ्ने निश्चित छ। 

जिल्लामा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ भनिएको छ, क्वारेनटाइनको अवस्था कस्तो त्यहाँ छ

दैलेखमा क्वारेन्टाइन र आइसोलेसनमा राख्ने विधि ठिक उल्टो देखिएको छ। भारतको सबै ठाउँमा सक्रमण फैलिएको छैन, थिएन। तर, भारतका विभिन्न ठाउँबाट आएकाहरू आउनेक्रममा सीमामा, बाटोमा, बसमा र आइसकेछि क्वारेन्टाइनमा पनि सँगै छन्। यसमा संघीय सरकारले ध्यान पुर्‍याउन सकेन। जिल्लाका स्कुल, कलेज, सरकारी कार्यालय, गाउँपालिका र वडाका सबै कार्यालय भरिएका छन्।

त्यतिले नपुगेर भैँसीगोठमा समेत मानिसहरुलाई राख्न थालिएको छ। यसो भन्दा काठमाडौंमा हासो हुन्छ। यहाँ फाइभ स्टार होटलमा राख्ने कुरा भइरहेको छ। तर जिल्लामा भैँसीगोठसमेत खाली नहुने अवस्था देखिएको छ। अब ओडारमा जाने स्थिति आइसकेको छ।

यसबारे केन्द्र सरकारको कुनै योजना र तयारी देखिएको छैन। जिल्लाका सांसदको पारिश्रमिक कटाएर भए पनि केन्द्र सरकार हेलिकप्टर बुक गरेर त्यहाँ पुगोस् र क्वारेन्टाइनमा बसेकाहरुको हविगत हेरिदेओस्, उनीहरूको आवाज सुनिदिओस्, भन्ने हाम्रो माग छ। जहाँको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यताभन्दा विलकुल फरक छ। जहाँ सुरक्षा, बासस्थान, खानेबस्ने र शौचालयको व्‍यवस्था पनि राम्रो छैन। 

स्थानीय तहको भूमिका कस्तो पाउनुभएको छ ?

समस्या एकैपटक आइदिँदा व्‍यवस्थापन गर्न स्थानीय तहहरूलाई गाह्रो/अप्ठेरो पक्कै भएको छ। तर प्रयास जारी राख्नुभएको छ। जनप्रतिनीधि, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूले दु:ख गरिराख्नुभएको हामीले देखेका छौ। तर प्रदेश सरकारको भूमिका गौण जस्तै देखिएको छ। प्रदेशले जाँच गरिदिनुपर्ने हो, तर हुन सकेको छैन। त्यसले स्थानीय तहलाई सहयोग हुन सकेको छैन।

हाम्रो माग त केन्द्रबाट टोली पठाएर स्वाब संकलन गरौ भन्ने हो। तर अहिले जुम्लाबाट पठाइएको टोलीले काम गरिरहेको छ। त्यसको रिपोर्ट आउन हप्तौँ लाग्ने गरेको छ। जहाँ संक्रमितले ज्यानै गुमाइसकेका छन्। त्यहाँ यो गतिले परीक्षण गरेर त हुँदैन नि। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.