|

काठमाडौं : कुनै समय माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कम्मर मर्काएर नाचेर राजनीतिक क्षेत्रमा पनि चर्चा कमाएकी नायिका रेखा थापा अब राप्रपाको लय र तालमा नाच्‍न थालेकी छिन्। त्यही लयमा उनी मुलुकको राजधानीबाटै महाधिवेशन प्रतिनिधि छानिएकी छिन्।

काठमाडौं क्षेत्र नम्बर ४ बाट उनी महाधिवेशन प्रतिनिधि छनोट भएकी हुन्। हरेक निर्वाचन क्षेत्रबाट अध्यक्षसहित ९ जना महाधिवेशन प्रतिनिधि छानिने क्रममा रेखाले आफ्नो स्थान सुरक्षित मात्र गरिनन्। उनले राजनीतिक भविष्यको गोरेटो पनि कोरेकी छिन्। महाधिवेशन प्रतिनिधि भएमात्र  केन्द्रीय सदस्यमा उम्मेदवार बन्‍न पाइने राप्रपा विधानमा व्यवस्था छ। राप्रपामा यसपटक एक तिहाइ स्थान महिलाका लागि आरक्षित गरिँदैछ।

रेखा स्थापनादेखि निरन्तर सक्रिय प्रभावशाली युवा नेता भुवन पाठकसँगै निर्वाचित भएको हुन्। त्यो क्षेत्रबाट आइते लामा अध्यक्ष बनेका छन्। नेता पाठकले भने- 'क्षेत्रमा पुराना धेरै कार्यकर्ता थिए तर अन्तिममा रेखासहित हामी सर्वसम्मतिबाट महाधिवेशन प्रतिनिधि छनोट भयौं।'

रेखा थापा महाधिवेशन प्रतिनिधि भएलगत्तै शनिबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय पुगेकी थिइन्। त्यहाँ पुगेर उनले महाधिवेशन प्रतिनिधि बनेको खबर अध्यक्ष कमल थापालाई सुनाएकी थिइन् भने अध्यक्षले रेखालाई बधाइ तथा शुभकामना दिएका थिए। महाधिवेशन प्रतिनिधि छनोट भएकी रेखाले आफूलाई काठमाडौंले विश्वास गरेकोमा खुसी व्यक्त गरिन्। काठमाडौं मित्रपार्क बस्ने उनी मोरङकी हुन्। रेखाले थाहाखबरलाई भनिन्- 'गृह जिल्ला मोरङ भए पनि काठमाडौंबाट राजनीतिमा होमिन मलाई यहाँकै साथीहरुले आग्रह गर्नुभयो। पुराना र त्यागी कार्यकर्ताले विश्वास गर्नुभयो। म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु।' रेखाले राजनीतिमा अझै माथि पुग्ने आफ्नो लक्ष्य सुनाउँदै यात्रा यतिमै नटुंगिने बताइन्।

त्यस्तै चर्चित गायिका कोमल वली पनि गृह जिल्ला दाङबाट महाधिवेशन प्रतिनिधि बनेकी छिन्। उनी पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएकी हुन्। 'तुल्सीपुरमा म जाँदा खेरी...' गीत गाएर त्यस क्षेत्रमा लोकप्रिय कोमल दाङ ५ बाट प्रतिनिधि बनेकी हुन्।

त्यस्तै अर्की वरिष्ठ गायिका मीरा राणा पनि महाधिवेशन प्रतिनिधि बनेकी छिन्। उनी काठमाडौं ३ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

नेपाल टेलिभिजनमा चित्रपट कार्यक्रम चलाउने रंगकर्मी एवं संचारकर्मी प्रकाश सुवेदी झापाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी रेखा र कोमल जस्तो सहज नभई चुनावी बाटोबाट प्रतिनिधि भएका हुन्। झापा क्षेत्र नम्बर १  बाट महाधिवेशन प्रतिनिधि चुनिने क्रममा उनले आरक्षणबाहेकका पाँच सिटमा तेस्रो नम्बरमा मत ल्याएका थिए। प्रकाशले धेरै पुराना कार्यकर्तालाई पछि पार्दै विजय हात पारेका छन्। उनले थाहाखबरसँग भने- मलाई सुरुमा नयाँ सम्झिएको थियो। म वैचारिक रुपमा पहिलेदखि राप्रपाकै थिए। पहिलेदेखि नै राप्रपालाई भोट दिन्थे।  त्यो पृष्ठभूमि बुझेपछि कार्यकर्ताको माया पाए। अब म त्यो जिम्मेवारी र विश्वासलाई कुशलतापूर्वक निर्वाह गर्नेछु।' प्रकाश केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन्। 

कोलम र रेखालाई राप्रपाले यसअघि नै केन्द्रीय सदस्य तथा महाधिवेशन आयोजक समितिको सदस्य बनाएको थियो। मीरा राणा पहिलेदेखि नै राप्रपा नेपालमा क्रियाशील थिइन। राप्रपानिकट पृष्ठभूमि भए पनि प्रकाश सुवेदी राप्रपा एकीकरण भएयतामात्र त्यहाँ सक्रिय थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.