समय थप्‍न सरकारसँग आग्रह

|

काठमाडौं : नेपाली कांग्रेसले सरकारले कर तिर्न गरेको उर्दीको अवज्ञा गर्न आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दै साना ठुला व्यवसायीले लकडाउनका कारण भोगिरहेको चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत जेठ २५ सम्म कर चुक्ता गर्न भनेर सूचना निकालेको प्रति कांग्रेको ध्यानाकर्षण भएका हुन्। 

सरकारले व्यवसायीले भोग्‍नुपरेको जटिलतालाई सहजीकरण गर्नुपर्ने बेलामा ताकता गर्नु गैर जिम्मेवारी भएको कांग्रेसको आरोप छ। 

‘राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियो,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रतिपक्षले पटकपटकको आग्रहका बावजुत राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिलकुल गम्भीर भएन।’ 

त्यस्तै लकडाउनको बीचमा कर चुक्ता नगरे जरिवाना लगाउनु नागरिकको पीडाप्रति सरकार असंवेदनशील बनेको कांग्रेसको ठहर छ। ‘हाल जेठ ३२ सम्म लकडाउन कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझ पचाउनु, नागरिकको पिडाप्रति असंवेदनशील बन्‍नु हो,’ देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ। 

कोरोनाको कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नु परेको बेला अनावश्यक खर्च घटनाउन र मितव्ययिताका लागि गर्नुपर्ने काम गर्न सरकार असफल भएको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले कर तिर्ने समय थप गर्न पनि सरकारलाई सुझाव पनि दिएको छ। 

‘सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्‍न माग गर्दै लकढाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर कार्य गर्न म अपिल गर्दछु,’ देउवाले भनेका छन्, ‘जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु।’ 

सरकारले आन्तरिक राजस्व विभागमार्फत सूचना जारी गरेर जेठ २५ सम्म कर तिर्न ताकेता गरेपछि कांग्रेसले विरोध गरेको हो। उक्त सूचनाकाे चाैतर्फी आलाेचना भइरहेका बेला सरकारले कर तिर्ने म्याद असार ७ सम्म थपेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.