अस्पतालमाथि कारबाही माग

|

बारा : नेपालको चौथो कोरोना संक्रमित मृतकका परिवारका सबै १२ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ। करैयामाई गाउँपालिका ७ उमजनका उनीहरुको जेठ १४ मा घरमै स्वाब संकलन गरिएको थियो।

अस्पतालमा उपचारका क्रममा ७० वर्षीय वृद्धको मृत्यु भएको ९ दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो। दाहसंस्कार गरेर आफन्त किरिया बसेको अवस्थामा मृतकको कोरोना पुष्टि भएको थियो। 

संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यसहित ३६ जनालाई गाउँकै विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।  मृतकका जेठा छोराले थाहाखबरसँगको टेलिफोनमा आफूसहित सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए। 

करैयामाई ७ का वडाध्यक्ष विरिज चौधरीले रिपार्ट नेगेटिभ आएका १२ जनालाई क्वारेन्टाइनबाट बिदा गरेर घर फर्काइएको जानकारी दिए। 

अरू आफन्तको अझै परीक्षण भएन

सरकारले कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको १० दिन भइसक्दा पनि मृतकका अन्य आफन्तको परीक्षण हुन सकेको छैन। ‘संक्रमण पुष्टि भएको तीन दिनपछि हामी १२ जनाको परीक्षण भयो,’ मृतकका छोराले भने, ‘१० दिन बितिसक्दा समेत अरु आफन्तको परीक्षण भएको छैन। सबैको परीक्षण हुन सकेमा हामी ढुक्क हुन्थ्यौं।’

पिसिआर परीक्षण नहुँदा मृतकका परिवार र उम्जन गाउँ नै त्रासमा छ। वडाध्यक्ष चौधरीले जिल्लालाई पटक–पटक अनुरोध गर्दासमेत परीक्षण गर्न आलटाल गरिएको बताए। ‘भोलि, भोलि भनेर टारेको टारै गरेका छन्,’ उनले भने, ‘भन्दा भन्दै ढिलो भइसकियो।’

‘अस्पतालाई कारबाही होस’

वीरगन्जको नेसनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका वृद्धको धार्मिक परम्पराअनुसार स्थानीय गाउँ नजिकैको खोला अन्त्येष्टि गरिएको थियो। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए। 

परिवारलाई जानकारी नगराई अस्पतालले उनको स्वाब संकलन गरेको थियो। स्वाबको वीरगन्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उपचारकै क्रममा निधन भएपछि अस्पतालले शव परिवारको जिम्मा लगाएको थियो। रिपोर्ट नआउँदै शव परिवारको जिम्मा लगाएपछि अस्पतालविरुद्ध पर्सा प्रशासनले कारबाही गर्ने भएको छ। 

मृतकका जेठा छोराले अस्पतालविरुद्ध कारबाही गर्नुपर्ने बताए। ‘हामीलाई अस्पतालले झुक्याएर परिवारलाई आतंकित बनायो,’ उनले भने, राम्रोसँग काजकिरियासमेत गर्न पाइएन। अस्पताललाई कारबाही नभएसम्म अरुले पनि यस्तै दुःख पाउनेछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.