नागरिकतामा भारत र मुटुमा नेपाल बोकेका आसिक गुप्ताको ठेला-चर्या
नागरिकतामा भारत र मुटुमा नेपाल बोकेका आसिक गुप्ताको ठेला-चर्या
काठमाडौं : पढ्न पाएका भए यतिखेर डाक्टर वा इन्जिनियर बन्थे उनी। किनकी सीमावर्ती देहातमा जति समस्या भएपनि किशोर विद्यार्थीहरूका लागि 'डाक्टर र इञ्जिनियर' गन्तव्य र भाग्य हो। आसिक गुप्ताका लागि पनि यो डेस्टिनेसन र डेस्टिनी नै थियो।
तर, आसिकले त्यो गन्तव्य भेट्न सकेनन्। भाग्यको रङ पनि घुर्मैलो भैदियो। कक्षा ६ पढ्दैगर्दा गरिबीका कारण पढाई नै छाड्नुपरेपछि उनलाई अवश्य लाग्यो : विपनामा राखिएका लक्ष्यपनि सपनामा देखेका दृश्यजस्तो क्षणिक हुनेरहेछ क्यार! नत्र पेटको भोक मेट्नकै लागि अक्षरसँगको यात्रा नै किन टुटाउनुपर्थ्यो र!
'अनि म काठमाडौं छिरेँ,' ठेलाभरि तिते करेला ठेलेर हिँडेका आसिकले तीतो विगत सुनाउँदै भने, 'त्यसबेला म ८,९ वर्षको थिएँ होला, घरको आर्थिक अवस्था नाजुक भएपछि पढाइ छोडेर कामको लागि काठमाडौं छिरेको हुँ।’
उनको वास्तविक घर नेपाल र भारतको सीमाक्षेत्रमा हो। १६ वर्षदेखि नेपालको राजधानी काठमाडौंका सडक र गल्ली नापिरहेका छन्। अहिले २५ वर्षका भए। दुईजना भाञ्जासहित गुप्ता अहिले जोरपाटी, बेसीगाउँमा बस्छन्। उनका दुई जना भान्जापनि उनी सँगै बस्छन्। लकडाउन अघिसम्म उनले आलुको गोदाम पसल राखेका थिए। राम्रै व्यापार चलेको थियो। तर, बीचमै लकडाउन लाग्यो। त्यसपछि ठेला किनेर व्यापार थाले।
‘लकडाउन लागेपछि आर्थिक समस्या भयो,’ उनले सुनाए, ‘पैसा नभएर घर जान पनि सकिनँ, त्यसपछि पैसा जोहोको लागि आठ हजार रुपैयाँ खर्चेर सेकेण्ड ह्याण्ड ठेला किनेर व्यापार थालेँ।’ उनी राती एक बजे नै कालीमाटी तरकारी लिन पुग्छन। ठेलामा तरकारी राख्छन् र बिक्रीका लागि विहान १० बजेसम्म खट्छन्।त्यसपछि पनि ठेला गुडाइरहे सुरक्षाकर्मीले रोक्छन्। किनकी संकटको जो याम छ। त्यसपछि बेसीगाउँदेखी गोकर्णसम्म चक्कर लगाएर आसिक डेरा फर्किन्छन।
प्रेम नमिसिएको कर्कश ‘भैया शब्द’
बुधबार विहानै बेसीगाउँ सडकमा दुईजना भान्जासहित लहरै ठेला गोकर्णतर्फ अघि बढिरहेका आसिक भन्दै थिए, ‘लौँ आलु,टमाटर,करेला तरकारी आयो...!!!’ नजिकैको एउटा घरबाट एकजना मानिस आदेशात्मक शैलीमा चिच्याउँदै निस्किए, ‘ओ भैया! एक छिन रोक। तरकारी हेरौं त, कस्तो ल्याएछौँ!’ उनको बोलीमा न स्नेह थियो, न आदर नै।
भारतले नेपालको सीमा मिचेका कारण अहिले भारतनलाई हेर्ने नेपालीको दृष्टिकोण बग्लै छ। भारतीय मुलका मानिस देख्दा केही नेपालीहरू अलि अप्ठ्यारो व्यवहार पनि देखाउँछन्। तर आसिक भन्छन्, 'जुन माटोमा डेढ दशक बिताइयो, कतिपय कुरा सहनुपनि पर्छ।' साना बालबालिकाले पनि भैया शब्दले पुकार्दा चाहिँ आसिकलाई कहिलेकाहिँ केही बस्तुले च्वास्स घोचेजस्तो हुन्छ। जस्तो कि भारतमा नेपाली श्रमिक र कामदारलाई कर्कश 'बहादुर' शब्दले थिचिदिन्छ।
आर्थिक पुल थिएन, ईञ्जिनियरको गन्तव्य टुट्यो
'पढ्न मन पर्थ्यो नि, स्कुलमा जो पढ्थेँ, त्यो सम्झिरहन्थेँ, साथीहरू पनि चकित पर्थे, ईञ्जिनियर पनि बनिसकेको थिएँ नि, तर बीचमा पैसाको पूल हालेर तर्नुपर्ने रहेछ, सकिएन,' आसिकले भने, 'परिवारमा आर्थिक अवस्था नाजुक भएपछि समस्या थपियो, ईञ्जिनियर बनेको देख्न चाहने साथीहरू निराश भए, त्यो भन्दा धेरै त मैले नै भोगेँ नि!’
अचेल आसिकलाई लाग्छ, गरीब परिवार हुँदै नहोस्, भएपनि बालबच्चाले पढ्न पाउन्, गरीब परिवारमा जन्मेकै कारण कसैले आफूले झैं बीचमा पढाई छाड्नु नपरोस्।
नागरिकता प्राप्तिको त्यो सकस
घर नेपाल र भारतको सीमाक्षेत्रमा रहकाले उनलाई नागरिक बनाउन धेरै गाह्रो भयो। ठ्याक्कै याद छैन त्यो दिन। नागरिकता बनाउन जाँदा नेपाली अधिकारीहरुले भारतीय नागरिक भने, भारतका सरकारी अधिकारीहरूले चाहिँ नेपाली भनिदिए।
दशगजा वरपर मानिसहरू बस्छन्, जायजन्म पनि प्राकृतिक नै भयो। तर अरुले झैं पहिचान पाउन निकै सकस पर्छ। आसिकले पनि त्यही सकस भोगे। अनेक जोडबल गरेपछि अन्तत: उनले भारतबाटै नागरिकता लिए।
अहिले उनी भारतीय नागरिक हुन्। तर २० वर्ष पहिलेदेखि नेपाली भएर बसेका आसिकलाई भारतीय नागरिकता बनाउँदै निकै अप्ठ्यारो महसुस भयो। उनी भन्छन्, 'नागरिकता नहुँदा धेरै काम रोकिने अवस्था आयो, अनेक कोशिस गरेपछि बनाएँ, यतिखेर म नेपाली माटोमा हुर्किएको भारतीय बनेको छु।’
श्रमको उस्तै सीमा, उस्तै परिधि
मातृभूमीमा सामान्य काम गर्न नचाहने, तर अन्यत्र गएर जस्तासुकै काम गर्ने मनोविज्ञानले दक्षिण एसियाका युवाहरू ग्रसित छन्। सामाजिक सिकाई र महत्वाकांक्षाले पनि त यसमा धेरै असर गर्नेगर्छ। आसिक पनि यसैका एक उदाहरण हुन्।
परिवारका जेठो छोरा आसिकले बिहे गरेका छैनन्। दुई भाइ छन्। आमाले काम गर्न सक्दिनन्। घरको जिम्मेवारी उनकै काँधमा आयो। ठेला व्यापार चलाउन पर्यो। लक्का जवान केटाले गाउँमै ठेला चलाउँदा आफन्तले नै नराम्रो महसुस गरिदिन्छन्। यसो नगरिदिने हो भने उनलाई आफ्नो गाउँमा श्रम गरेर खान कुनै अप्ठ्यारो पर्दैन।
‘आफ्नो गाउँठाउँमा काम गर्दा लाजसरम भन्ने लाग्दो रहेछ के!’ उनले मुसुमुसु हाँस्दै भने, ‘त्यसैले भारतमा काम गर्न त्यति मन लाग्दैन, नेपालमा जे काम गरेनी देख्दैनन्। परिवार पाल्न सके भै गयो नि भन्ने लाग्छ।’ उनका अनुसार अहिले तरकारी ठेलाबाट दैनिक दुई हजार रुपैयाँ बराबरको व्यापार हुन्छ। सो व्यापारबाट हुने आम्दानीमा आसिकको परिवार निभर्र छ।
गुप्ताको नेपालीपनको माया
नागरिकता पाएका हिसाबले उनी भारतीय नागरिक हुन। तर, पहिलैदेखी नेपालमा बस्दै आएकाले भारतभन्दा नेपाल नै प्यारो लाग्छ रे उनलाई। उनी नेपाली भाषा प्रष्ट बोल्छन्।
भन्छन, ‘हामी पहिल्यैदेखी नेपालमा बसेका हौं नि हँजुर! यहि हुर्कियौँ। माया त नेपालकै बढी लाग्छ। यही पसिना बगाउन पाउँदा मलाई गर्व लाग्छ।' आफ्नो नागरिकता जहाँको भएपनि सकुन्जेल नेपालमै पसिना बगाउने आसिकको चाहना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।