|

काठमाडौं : प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले राष्ट्रिय सूचना आयोगसमक्ष पत्रिका वर्गीकरण पुनरावलोकको माग गरेका छन्।

आर्थिक वर्ष २०७१/७२ मा काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरण अपारदर्शी भएको भन्दै आइतबार पत्रकारहरुले सूचना आयोगसँग वर्गीकरण पुनरावलोकनको माग गरेका हुन्। पहिला वर्गीकरणमा परेको तर आर्थिक वर्ष २०७१/७२ मा नपरेका ७७ वटा पत्रपत्रिकाका प्रकाशक तथा सम्पादकले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटालाई वर्गीकरण पुनरावलोकनको माग गर्दै निवेदन बुझाएका छन्।

काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणविरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका पत्रकारहरुले काउन्सिलबाट अन्याय भएको भन्दै आयोगको सहयोग मागेका हुन्। पत्रपत्रिकाको वर्गीकरणपछि काउन्सिलसँग विभिन्न १७ वटा विषयमा सूचना माग गर्दा पनि नपाएपछि आन्दोलनमा उत्रनु परेको पत्रकारहरुको भनाई छ। काउन्सिलभन्दा माथिल्लो निकाय राष्ट्रिय सूचना आयोगबाट पनि आफ्नो मागको सम्बोधन नभए काउन्सिलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने आन्दोलनरत पत्रकारहरुले चेतावनी दिएका छन्।

पत्रपत्रिका वर्गीकरण गैरजिम्मेवार र विभेदपूर्ण भएको आरोप लगाउँदै गत पुस १८ गतेदेखि पत्रकारहरुले आन्दोलन गरिरहेका छन्। हरेक वर्ष प्रेस काउन्सिलले गर्ने पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि राख्दै पत्रकारहरुले आन्दोलन गर्ने गरेका छन् । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणको आधारमा वर्षेनी दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिका र विद्युतीय संचार माध्यामलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.