|

काठमाडौं : नेपालका विभिन्न जातजातिका परम्परागत पहिरन अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ। न्युयोर्कमा शनिबार सम्पन्न वर्ल्ड फेसन परेडद्वारा आयोजित 'न्युयोर्क फेसन विक ३' मा नेपालका १४ जातजातिका पहिरन प्रदर्शन गरिएको हो।

नेपाली फेसन डिजाइनर पुनम क्षेत्री गौतमले तयार पारेका पहिरन अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन्।

नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो।

विश्वका स्थापित फेसन डिजाइनरले नेपाली परम्परागत पहिरन प्रस्तुत गरेकोमा प्रसंसा गरेकोले खुसी लागेको पुनमले बताइन्। उनले भनिन्, ‘अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिँदा मैले नेपाली मौलिक कला तथा संस्कृति झल्कने पहिरन तयार पारेकोमा अधिकांशले नेपाली पहिरनको प्रसंसा गरेकोमा म हर्षित भएकी छु।’

फेसन शोमा डिजाइनर गौतमले तयार पारेका बाहुन, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका परम्परागत पहिरन प्रदर्शन गरिएको थियो। ‘नेपालमा झन्डै तीन महिना लगाएर तयार पारेका पहिरनले अमेरिकी दर्शकको समेत मन जित्न सकेकोमा म हर्षित छु', डिजाइनर गौतम भन्छिन्, ‘पहिरनमार्फत मैले हामी नेपाली एक हौं भन्ने सन्देश दिन खोजेकी थिएँ। मेरो यो थिमलाई अधिकांश सहभागीले प्रसंसा गरे।’ फेसन शोमा डिजाइनर गौतमले तयार पारेका पहिरनहरु विदेशी मोडल र एक नेपाली मोडल जाङ्बु शेर्पाले पनि प्रस्तुत गरिन्।

हेर्नुस् थप फोटो

उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए। हरेक डिजाइनरलाई आफ्ना पहिरन प्रदर्शनका लागि एक–एक वटा सिक्वेन्स तयार पारिएको थियो। डिजाइनर गौतमलाई नेपाली राजदूतावासले प्रसंसा पत्रदिएर सम्मान गरेको छ। फेसन शो लगत्तै राउटे र शेर्पा जातिको संस्कृति झल्कने पहिरन बिक्री भएको पुनमले बताइन् ‍। न्युयोर्कको होलि डे इनमा सम्पन्न फेसन शोमा करिब ६ सय दर्शक उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.