|

इलाम : पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकिएपछि यतिबेला किसान र व्यापारी समस्यामा परेका छन्। वार्षिक रुपमा १ अर्बभन्दा बढीको गोलिया निर्यात हुने पुर्वी पहाडी क्षेत्रका जिल्लामा यति बेला कोरोना र मन्त्री परिषदको निर्णयका कारण समस्यामा परेको हो। बन्दाबन्दी शुरु भएपछि कोरोनाको त्रासका कारण आफैँ केही समय गोलिया निकासी ठप्प थियो।

बिचमा केहि दिन गोलिया निकासी सूचारु गरिए पनि केहि दिनअघि मन्त्रिपरिषदको निर्णयले व्यवसायी र किसान समस्यामा परेका हुन्। निकासी रोकिएपछि  प्रदेश १ का अधिकांश जिल्लाका किसान र व्‍यवसायी समस्यामा परेको राष्ट्रिय वन पैदावर व्‍यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्काले जानकारी दिए।

सरकारको १७ करोड राजस्व गुम्दै

प्रदेश १ का पहाडी जिल्लामा कटान गरेर राखिएको ३८ लाख क्युफिट गोलिया कुहीने अवस्थामा पुगी सकेको खड्काले जानकारी दिएको छ। उनका अनुसार इलाम जिल्लामा ८ लाख क्यूफिट, पाँचथरमा ५ लाख क्यूफिट, ताप्लेजुङमा ३ लाख क्यूफिट, धनकुटामा ५ लाख क्यूफिट, तेह्थुममा ७ लाख क्यूफिट, भोजपुरमा ६ लाख क्यूफिट  र संखुवासभामा ४ लाख क्यूफिट गोलीया कटान गरी निकासीका लागि तयारी अवस्थामा राखीएको छ।

राखीएको गोलीया तत्काल निकासी नभएमा कुहीने अवस्थामा पुगेको ब्यवसायीले बताएका छन्। सरदरमा तीन सय ५० रुपियाँ प्रति क्यूफिटका दरले किसानले गोलीयाको मुल्य पाउदै आएका छन्।

किसानबाट खरीद गरिएको ३८ लाख क्यूफिट गोलियाको मूल्य १ अर्व ३३ करोड हुन आउँछ। यसबाट सरकारलाई मात्र ब्यवसायीले १७ करोड २९ लाख रुपियाँ राजस्व बुझाउनु पर्दछ। गोलीया निकासी नखुलेमा उक्त राजस्व रकम सरकारले समेत गुमाउने ब्यवसायीको भनाई छ। पहाडी जिल्लाका बन जंगलबाट कटान गरी सडकमा निकालीएको गोलिया जिल्ला बन कार्यालयहरुबाट प्रक्रिया पूरा गरी निकासीका लागि तयारी अवस्थामा राखिएको छ। 

बन्दाबन्दी अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन लगायतका कारण पनि प्रदेश १ का पहाडी जिल्लाबाट गोलीया निकासीमा अवरोध भएको थियो। लगातारको अवरोधका कारण इलाम जिल्लाका नीजि नम्बरी र आवादी जमिनको किसानले बिक्री गरेको बनमा प्रक्रिया पुरा गरी कटान गरिएर राखिएका उत्तीस, मलातो  लगायतका (कु काठ) गोलिया कुहिन थालेको छ।

जंगलबाट लाखौ रुपियाँ खचिएर सडकमा थुपारिएका गोलिया कुहीन थालेकै अवस्थामा सरकारले नै निकासी ठप्प बनाई दिएपछि किसान र ब्यवसायी डुब्ने अवस्थामा पुगेको अध्यक्ष खड्काले बताए। अध्यक्ष खड्काले भने ‘गोलीया निकासी बन्द हुँदा प्रदेश १ मा ब्यवसायी किसान मात्र मारमा पर्ने होईन सरकारको समेत करोडौ राजस्व गुमाउनुपर्ने छ।’

निकासी खुलाउन मुख्यमन्त्रीलाई ज्ञापन  

गोलीया व्‍यवसायीहरुको छाता संगठन राष्ट्रिय बन प्रदावर ब्यवसायी संघ केन्द्रिय कार्यालय इलामले शुक्रबार प्रदेश १ का मुख्यमन्त्री  र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा गोलीया निकासी खुलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। प्रदेश १ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर राना र प्रदेश सांसद धिरेन्द्र शर्मा मार्फत संघले ज्ञापन मुख्यमन्त्री  र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र पठाउँदै गोलिया निकासीको वातावरण बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो।

ब्यवसायी संघका अध्यक्ष रोहीत खड्काले ज्ञापन पत्र बुझाउदै कटान गरी थन्काईएको कु काठ(गोलीया) प्रदेश सरकारको पहलमा निकासी गर्ने बातावरण बनाउन माग गरे। ज्ञापन पत्र बुझ्दै भूमि व्‍यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर रानाले प्रदेश १ मा गोलीया निकासी सूचारु गर्न तत्काल पहल थालिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.