|

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ। 

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ। आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमा विनियोजन खर्चमा छलफल हुने संसद सचिवालयले जनाएको छ। 

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकमा विनियोजन खर्चमा पनि छलफल हुने सचिवालयले जनाएको छ। 

बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकमा विनियोजन खर्चमाथि परेका खर्च कटौतिका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ। प्रतिनिधिसभाको हिजोको बैठकमा विभिन्न ८ वटा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ। आज विनियोजन विधेयकमाथिको छलफल सकिए भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएर बजेटमाथिको छलफल सम्पन्न गर्ने संसद सचिवालयले जनाएको छ।

यस्तै आज राष्ट्रियसभाको बैठक पनि बस्दैछ। बिहान ११ बजे बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक छलफल गरी पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट तथ्याङक विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत हुनेछ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रत्यायन एक्रिडिटेशन विधेयक २०७६ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विरुवा संरक्षण पहिलो संशोधन विधेयक छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.