क्‍वारेन्टाइनमा बसेका हजारौं परीक्षणको प्रतिक्षामा

|

काठमाडौं : शनिबार सेति प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ निवासी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’ आयो।

मिर्गौलाको बिरामी उनको डायलासिसअघि गरिएको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। तर मृत्यु भएपछि गरिएको थ्रोब स्वाबको नमुनालाई पिसिआर परीक्षण गरिँदा कोरोना रिपोर्ट पोजेटिभ देखियो। 

यस्तै बिहीबार सुर्खेका २० वर्षीय युवाको कोभिड-१९ का कारण मृत्यु भयो। उनको पनि मृत्यु भइसकेपछि कोरोना भाइरस पुष्टि भएको थियो। जेठ ८ गतेदेखि सुर्खेतस्थित जनता माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका उनलाई पनि सरकारले आरडिटी परिक्षणमा नेगेटिभ  देखिएपछि घर पठाएको थियो। तर घर पठाएको भोलिपल्ट उनको मृत्यु भयो। मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखियो।

शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणअनुसार डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषमासमेत कोरोना संक्रमण पोजिटिभ देखिएको छ। ती पुरुषको पनि आरडिटीमा नेगेटिभ नतिजा आएको थियो।

यो मात्रै होइन, केही दिनअघि पिसिआर रिपोर्ट आउन ढिला भएपछि अर्घाखाँचीको ज्योति मावि ठाडामा क्‍वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परीक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार बिहान घर पठाइयो।

१२ दिन अगाडि उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवा पठाइएको थियो। तर डेढ सातापछि उनीहरुमध्ये एकजनाको पिसिआर रिपोर्ट आयो, त्यो पनि पोजेटिभ। त्यसबीचमा उनमा भएको संक्रमण कति फैलियो भन्‍ने लेखाजोखा सरकारसँग छैन।

यी माथिका घटना प्रतिनिधि मात्रै हुन्। कोरोना भाइरसको संक्रमण देखिएको झन्डै पाँच महिना पुगेको बेलामा मृत्यु भएकामध्ये धेरैको मृत्युपछि पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ।

हालसम्म विश्‍व स्वास्थ्य संगठनले मान्यता नदिएको र विश्‍वका अन्य मुलुकले समेत प्राथामिकाता नदिएको आरडिटी परीक्षणलाई सरकारले प्राथामिकता दिइरहेको छ। भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका धेरैको आरडिटी परिक्षण गरेर उनीहरुलाई घर पठाउने नीतिमा सरकार रहेको छ।

विभागीय मन्त्रालयको हिसाबले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्‍वारेन्टाइनमा बसेका धेरैको आरडिटी परीक्षणबाटै घर पठाउन कोरोना परीक्षणको नयाँ निर्देशिकासमेत बनाइसको छ।

संक्रमण दिन प्रतिदिन बढ्दै गएका बेला यसरी पिसिआर परीक्षणलाईभन्दा आरडिटी परीक्षणलाई प्राथामिकता दिनुलाई सरकार कोरोना नियन्त्रणमा उल्टो बाटो हिँडिरहेको विज्ञहरु नै बताउँछन्। 

क्‍वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्यकर्मीको नियमित निगरानीमा राख्नुपर्ने र उनीहरूको अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव छ। तर सरकारले क्‍वारेन्टाइनमा बसेकाहरुलाई धमाधम आरडिटी परीक्षण गरेर घर पठाउने नीति लागु गरिरहेको छ। जसका लागि आवश्यक आरडिटी किट पनि धमाधम खरिद भइरहेको छ। अझै डेढ लाख किट किनिँदैछ। 

त्रिभुवन विश्‍व विद्यालयका आनुवांशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठीका अनुसार हाल धेरै भन्दा धेरै पिसिआर परिक्षण गरेर संक्रमण नियन्त्रण गर्नु पर्नेमा सरकारले संक्रमणको पुष्टि नै गर्न नसक्ने आरडिटी परीक्षणलाई जोड दिएर कोरोना भाइरस झन् फैलाउनेतर्फ लागेको बताउँछन्।

‘हामीले सुरुदेखि भन्दै आएका छौँ, भाइरस संक्रमण पत्ता लगाउन पिसिआर विधि नै प्रभावकारी हुन्छ, आरडिटी परीक्षण त  अनुसन्धानका लागि मात्रै हो। रोग निदानका लागि उपयुक्त होइन', उनले भने, 'भाइरस सबैभन्दा एक्टिभ हुने १४ दिन अगाडि र भाइरस अरुमा सार्ने पनि त्यही अवधि भएकाले आरडिटीले संक्रमण देखाउन नसक्दा त्यसको भर पर्न सकिँदैन। सरकारले अहिले जसरी आरडिटीलाई प्राथामिता दिएको छ, यसले भाइरस नियन्णभन्दा फैलाउन सहयोग पुर्‍याउँछ।‘

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको पिसिआर विधिबाट कोरोना जाँच नगर्ने भएको छ। कोरोना भाइरस शंकास्पद व्यक्तिको परीक्षण गर्न बनाइएको नयाँ निर्देशिका अनुसार लक्षण देखिएकाहरुको मात्रै पिसिआर विधिबाट परीक्षण गरिने योजना बनाइएको छ।

मन्त्रालयले लक्षण नदेखिएकाहरुको पिसिआर परिक्षण नगर्ने जनाएको छ। मन्त्रालयले देशभर भाइरस संक्रमित र क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या अप्रत्याससित बढेपछि परीक्षणका लागि नयाँ निर्देशिका बनाएको हो। 

नयाँ निर्देशिका अनुसार अबदेखि पिसिआर परीक्षणका लागि आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतमा दिइने भएको छ।

क्‍वारेन्टाइनमा बसेकाका सबैको पिसिआर परीक्षण नगरिने रणनीति बनाइएको हो। क्‍वारेन्टाइनमा बसेकाहरुको आरडिटी विधिबाट परीक्षण गरेर सरकारले घर पठाइरहेको छ। तर क्‍वारेन्टाइनका सबैको पिसिआर विधिबाट परीक्षण नगरी एन्टीबडी मात्रै जाँच गर्न सकिने आरडिटीलाई जोड दिइएको छ।  क्‍वारेन्टाइनमा बसेकाहरुको १४ दिनपछि आरडिटी विधिबाट परीक्षण गरिने निर्देशिका नै आइसकेको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भाइरस संक्रमित भए पनि क्‍वारेन्टाइनमा बसेको आठ दिनपछि शरीरले एन्डिबडी बनाउने भाइरस अरुमा सर्ने जोखिम कम हुने भएकाले यस्तो कदम चालिएको बताउँछन्। 

क्‍वारेन्टाइनमा बसेका तर तर लक्षण नदेखिएका धेरैको आरडिटी परीक्षण गरिने नीति त्यहीकारण लिइएको उनको तर्क छ। ‘विज्ञहरुकै सुझावको आधारमा क्‍वारेन्टाइनमा बसेको आठ दिनपछि शरीरले एन्डिबडी बनाउने र भाइरस अरुमा सर्ने जोखिम कम हुने भएकाले क्‍वारेन्टाइनमा बसेका तर लक्षण नदेखिएका र स्वास्थ्य समस्या नभएकाको आरडिटी परिक्षण गर्ने निर्णय भएको हो', उनले भने। 

 सरकारले आरडिटी परिक्षणलाई प्राथामिकता दिएसँगै मन्त्रालयले हालसम्म तीन चरण गरेर २ लाख ९६ आरडिटी किट खरिद गरिसकेको छ।

यता स्वास्थ्य मन्त्रालय परिसरमै रहेको  शक्तिशाली नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले लामो समय अध्ययन गरी कोरोना भाइरसको पहिचानका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट तीन हप्ताअघि नै  बुझाइसकेको छ।

तर, स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्ट लुकाएर धमाधम आरडिटी किट खरिद गरिरहेको छ। परिषद्‍ले उक्त रिपोर्ट बुझाइसकेपछि पनि मन्त्रालयले थप एक लाख थान आरडिटी टेस्ट किट खरिद गरिसकेको छ भने थप तीन लाख किट किन्‍ने प्रक्रिया अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.