|

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको पूर्णविवरण सार्वजनिक गर्न माग गरेका छन्। संघीय संसद राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरेका हुन्। 

‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ। हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाखभन्दा बढीको कुनै पनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्र आव्हानमार्फत गर्नुपर्छ भनेर भन्छ,’ उनले भने, ‘यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो। यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने। त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ। यो खर्चको विवरण फेहरिस्त रुपमा आउन पर्‍यो भनेर माग गर्न चाहन्छु।’ 

उनले १० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था अझै रहेको उनको भनाई छ। त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च गर्‍यो भन्दै उनले प्रश्न गरे। उनले मान्छेको मृत्यु पछि मात्रै कोरोना परिक्षण गर्ने र पोजेटिभ नतिजा सार्वजनिक गर्ने गरिएको आरोप पनि लगाए।

‘जब मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ। हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो? हामीले कहाँबाट ल्याएको प्रविधि हो ?’ उनले भने, ‘किन यस्तो हुन्छ । एउटा मान्छे बिरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ।’

उनले सरकारले सहयोगस्वरूप पाएको स्वास्थ्य सामाग्रीहरु बजारमा कालोबजारीको हातमा पुर्याएको उनको आरोप छ। चीन भारत र एनआरएनए हरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पु¥याई विक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको उनले बताए।

‘बजारमा स्वास्थ्य सामग्रीहरु खुद्रा पसलहरुले बेच्न पाइराखेको छैन् । तर केही फेसबुकमा आउँछ पीपीई चाहियो भने, मास्क चाहियो भने हाम्रो फलानो नम्बरमा सम्पर्क गर्नुहोस भनेर त्यस्ता कालाबजारीयाहरुलाई सरकारले रोक्ने कि नरोक्ने ?’ उनले भने, ‘त्यसलाई पक्रेर कारबाही गर्ने नि नगर्ने ? सरकार मतियार भइरहेको छ तिनको।

सरकारलाई चीनले भारतले एनआरएनहरुले दिएका सरकारका मन्त्री सचिवहरुलाई दिएका सामग्रीहरु ति व्यपारीहरुको हातमा पुगेको छ । तिनले बेचिरहेका छन आज हामीले ति मान्छेहरुसँग सोद्धा खेरी कहाँबाट आयो भन्दा माथिल्लो निकायबाट आयो भनेर जवाफ दिइरहेका छन् ।’ 

यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको आरोप पनि लगाए। उनले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतिय सवारीमा कर बडाएको पनि आरोप लगाए। सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफु बस्ने पनि उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.