क्‍वारेन्टाइन बस्‍नेले गरे दाहसंस्कार

|

बैतडी : भारतबाट फर्किएर बैतडीको क्‍वारेन्टाइनमा मृत्यु भएका युवकको परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ। शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षण पनि गरिएको छैन। 

ती युवकको दाहसंस्कार क्‍वारेन्टाइनमा सँगै बसेका उनका आफन्तले नै गरेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।  
२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पुगेका थिए। शनिबार बिहान ११ बजेतरि मात्र क्‍वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए। उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको हो। 

मृतकसँगै भारतबाट भाइसँगै र अन्य आफन्त गरी १४ जना शनिबार बिहान ६ नम्बरकै भीमदत्त प्राविधिक शिक्षालयको क्‍वारेन्टाइनमा बसेका थिए। सँगै क्‍वारेन्टाइनमा बसेकामध्ये ६ जना आइसोलेसनमा बस्ने सर्तमा दाहसंस्कार गरेका स्वास्थ्य शाखा प्रमुख महराले बताए। 

‘दाहसंस्कार तथा मलामी जाने ६ जनामध्ये एक भाइ मात्रै सामाजिक दूरी कायम गरी घरमा किरिया गर्ने अरु ५ जनालाई आइसोलेसनमा राख्छौं’, उनले भने।मृतकका आफन्तका अनुसार मृतक बिरामी भएको थाहा नभए पनि तौल भने अस्वाभाविक बढी रहेको थियो। ३० वर्षीय उनको तौल एक सय १० किलोग्राम थियो। ‘ग्रीन जोन’बाट आएको भन्दै मृतकका परिवारले नमानेका कारण मृतकको शव दाहासंस्कारका लागि परिवारको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। 

दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ। मृतकको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  

कोरोना संक्रमण पुष्टि भएका कसैको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्नुपर्ने भनिएको छ, तर यहाँ परीक्षण नहुँदै दाहसंस्कार गरिएको छ। यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.