महामारीमा गाडी किन्‍ने होइन

|

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणको काममा सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभा सदस्यहरुले टिप्पणी गरेका छन्। 

संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले १० अर्ब खर्च गरिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन्। 

उनीहरुले विदेशबाट प्लेनमा आउने नागरिक र भारतबाट आउने नागरिकहरुबीच असमान व्यवहार गरिएको बताएका छन्। यस्तै लकडाउनका कारण पीडित बनेका श्रमिकहरु वर्गको हितमा सरकारले कुनै काम नगरेको समेत उनीहरुले बताएका छन्।

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुर्वै पीडित बनेको बताए। लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको बताए। 

‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन्', उनले भने, 'दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्‍ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बीचमा ड्राइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर पर्‍यो। सरकरको ध्यान त्यता अलिबढी जानु पर्‍यो अहिले गएको पुगेन।’

उनले किसानले उत्पादनको विक्री नहुने, अस्पताल पुगेको छैन, औषधि छैन, मेसिन नभएर जाँचन सकिएको छैन, स्वास्थ्यकर्मीको अभाव छ अनेक व्यवस्थामा अव्यवस्थै अव्यवस्था भएको बताए।

प्रदेश सरकारलाई बाँदरको पुच्छर जस्तो बनाउन खोजिएको विडारीले बताए। उनले कोरोना रोकथामका लागि प्रदेश सकरारले कुनै काम नगर्ने तर गाडी किन्‍न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्‍ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको बताए। 

'तीन तहको सरकारमध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन। डार्विनको सिद्धान्त अनुसार विकासवादी सिद्धान्त, थेउरी अफ इभोलुसनको सिद्धान्त अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ', उनले भने, 'यस्तै भयो कि प्रदेश सरकारको। प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन? यदि सक्रिय बनाउन सकिएन भने मलाई मलाई चिन्ता पर्‍यो संघीयतामा आँच आउने भयो।'

उनले यो बेला महँगा गाडी किन्‍ने नभएकोमा जोड दिएका छन्। 'महँगा गाडी किन्यो रे प्रदेशले, महँगा गाडी किन्यो रे सरकारले विभिन्‍न सुविधा थप्यो रे सरकारले, यस्तो प्रकारका समाचार व्यापक रुपमा आइरहेका छन्। यो बेला विलाशिताको सामान किन्‍ने बेला होइन। उपचारमा सक्रियता चाहियो। नत्र उपयोगहिन अंग लोप हुन्छ', उनले भने, 'बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुटन पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकारमध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो? यसको जवाफ चाहियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.