उत्पादन एक चाैथाइ मात्रै हुने

|

गुल्मी : गुल्मी किसानलाई मकैमा विभिन्न रोग र किराहरु देखिन थालेपछि रातभर निद्रा लागेको छैन। फेदमा गबारो र गुबोमा फौजी किराको प्रकोपले किसानहरु चिन्तित छन्।  

धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० वर्षीया डिलाराम भण्डारीले १० रोपनी खेतमा मकै लगाएका छन्। भर्खरै खनेर उठेका मकैमा किराहरुले सताउन थालेपछि उनी चिन्तित त थिए नै मकैको गुबोमा फौजी किराको प्रकोपले झनै सताएको उनलाई।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अन्नपूर्ण बीउ उत्पादन समूहमार्फत ५० प्रतिशत अनुुदानमा उनले ‘देउती सेतो’ मकै लगाएका हुन्। ‘किराले मकै खाएर सखाप पारेको छ, फेद, गुबो र पातमा धेरै नोक्सानी गरेको छ,’ उनले भने, ‘ठाउँपिच्छे फरक–फरक रोगले सताएको छ।’ 

आफूहरुलाई कृषि प्राविधिकबारे पनि ज्ञान नभएकाले झनै समस्या भएको उनी गुनासो गर्छन्। अर्का ५८ वर्षीय मनिराम भण्डारीले पनि पाँच रोपनीमा मकै छरेका छन्। कुनै रोग, किरा नलागेको भए यस वर्ष उनले १५ मुरी अर्थात् १२ क्विन्टल भन्दा बढी मकै उत्पादन गर्थे। तर त्यसको २५ प्रतिशत पनि उले पाउने छाँटकाँट छैन। 
उनको माग छ, ‘गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो।’ अहिलेकै समस्या यथावत् हरे खाद्यसंकट आउन सक्ने भन्दै उनी डराउँछन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धुर्कोट ५ वस्तुस्थित अन्नपूर्ण बीउ उत्पादन सहकारीमार्फत गान्टारी गाउँमा सात क्विन्टल मकैको बीउ लगाइएका छन् किसानले। 

कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरक–फरक जातको बीउ लगाइएको छ। रोग–किरा नलागे वा सुरुमै आवश्यक विषादी राखेको भए तीन हजार मुरी अर्थात् दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुन्थ्यो। तर अहिले त्यो उत्पादन भने नहुने पक्का भइसक्यो। 

उक्त सहकारीका अध्यक्ष लालमणी शर्माको गुनासो छ, ‘गाउँपालिका र मकै जोन कार्यक्रमले आवश्यक सहयोग गरेन।’ उत्पादन घट्ने चिन्तामा कृषकहरु बस्नुपरेको उनी बताउँछन्। अर्का किसान रामप्रसाद पाण्डे जनप्रतिनिधि तथा प्राविधिक यो समस्याप्रति गम्भीर हुन जोड दिन्छन्। 

लकडाउनले झनै समस्या

जिल्लाका अधिकांश बालीमा गबारो तथा फौजी किरा प्रकोप देखिएको छ। धुर्कोट, अर्खले, सिमिचौर, इस्मा, मालिकालगायत क्षेत्रमा यी रोगले बढी नै सताएको छ। 
यही समयमा लकडाउन भएकोले पनि किसानलाई झनै समस्या भएको छ। ‘लकडाउनले विषादी लिन जान पाइएको छैन,’ कृष्ण प्रसाद भण्डारी दुः सुनाउँछन्, ‘न हिँड्न दिन्छन्, न प्राविधिक आउँछन्।’ 

प्राविधिकलाई सम्पर्क गरे पनि लकडाउनको बहाना बनाएको उनको आरोप लगाए। अर्का किसान रवीन्द्र भण्डारीको व्यथा पनि दुरुस्तै छ। उनी दोष भने गाउँपालिकालाई लगाउँछन्। ‘काँक्रालगायतका फलफूलमा पनि डढेलोजस्तो समस्या देखिएको छ,’ उनी दुख सुनाउँछन्, ‘लकडाउनमा हिँड्न पनि पाइएन, औषधि पनि पाइएन।’ 

विषादी प्रयोग गर्न कार्यालयको सुझाव

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत समिर मगरले सकेसम्म जग्गाको पूर्वतयारी गरेर मकै लगाउन उनले आग्रह गरे। तर अहिलेको अवस्थामा मकैमा विषादी राख्नुको विकल्प नभएको उनले बताए। जसका लागि ‘किङ स्टार’ नामको पाँच ग्रामको विषादी ल्याई १६ लिटर पानीमा घोलेर मकैको बोट पूरै भिज्नेगरी स्प्रे गर्न उनले सुझाए। 

यसो गर्दा आधा रोपनीभन्दा बढीलाई पुग्ने उनको भनाइ छ। अर्को किङ किलर नामको विषादी ल्याएर प्रयोग गर्न सकिने उनले बताए। त्यसको अलवा कुनै समस्या परे कार्यालयमा फोनमार्फत पनि सम्पर्क गर्न आग्रह गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.