|

चितवन : भूकम्पबाट जोखिममा परेको चितवनको विकट बस्ती एसिखाई र तापाङका १३ घर परिवारले स्थानान्तरणका लागि कालिटारको सुरक्षित स्थानमा जग्गा धनीपुर्जा प्राप्त गरेका छन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनले विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटारमा पुगेर बिहीबार जग्गा धनीपुर्जा वितरण गरेको हो। 

सो इकाइका आयोजना प्रमुख पुष्कर पोखरेलले यहाँको जोखिम बस्ती एसिखाईका ११ र तापाङका दुई गरी १३ परिवारलाई घर निर्माणका लागि जग्गा धनीपुर्जा उपलव्ध गराइएको बताए। उनका अनुसार विभिन्न ऐलानी जग्गामा राहत वितरणमा समस्या परेको भन्दै स्थानीय तहले सूचिकृतका लागि समन्वय गर्नुपर्नेमा जोड दिए।

जग्गा धनीपुर्जा लिन जोखिम बस्तीबाट झरेर चेपाङहरु कालिटार आएका थिए। जग्गा धनीपुर्जा लिंदै भिमबहादुर प्रजाले घडेरी पाएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता भएको बताए।

यसरी पुर्जा पाउनेमा भिमबहादुरसहित सन्तलाल प्रजा, दिलबहादुर प्रजा, भिमलाल प्रजा, रामबहादुर प्रजा, आइतराम प्रजा, मनिलाल प्रजा, लालिमायाँ प्रजा, फुलमायाँ प्रजा, ईन्द्रलाल प्रजा, चन्द्रबहादुर प्रजा, बिमायाँ प्रजा रहेका छन्। राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले उनीहरुलाई पुर्जा वितरण गरेकी थिइन्। 

घरको पुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख बरालले समयमै घर बनाउन आग्रह गर्दै धुर्मुस सुन्तलीको जस्तो नमूना बस्ती निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्न नगरपालिका तयार रहेको बताइन्। उनीहरुलाई प्रतिघर १२ दशमलव ८५ धुर जग्गा उपलव्ध गराइएको छ। हरेक घडेरी दुई लाख रुपैयाँका दरले अयोजनाले खरिद गरेर उपलव्ध गराइएको हो। 

आगामी असारसम्ममा घरको डीपीसी गरेर भूकम्प लाभग्राहीले दोस्रो किस्ता बराबरको एक लाख ५० हजार रुपैयाँ रकम पाउने भएकाले घर निर्माणलाई तीव्र बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले आग्रह गरे। उनले उक्त जग्गा १० वर्षसम्म बेचविखन गर्न नपाउने बताए। 

उनका अनुसार जिल्लाका १०३ घर स्थानान्तरण गर्नुपर्नेमा २१ घरले जग्गाको पुर्जा पाएको र ४२ परिवारको प्रक्रियामा रहेको छ। इन्जिनियर सुजन नेपालले करिव साढे चार लाख मूल्यमा नक्सा अनुसारको घर तयार हुने भएकाले तीन लाखको अनुदान बाहेक अरु पैसा भने स्वयंले नै बेहोर्नुपर्ने बताए।

सो बस्ती निर्माणका लागि स्थानीय वडा सदस्यहरुलाई नगरपालिकाको तर्फबाट अगुवाई गर्न समेत नगरप्रमुख बरालले निर्देशन दिइन । यसअघि ईच्छाकामनाको पाँचघरेका जोखिम बस्तीका पाँच घरलाई लेवाटारमा र राप्ती १२ को ओकराङका तीन घरलाई समेत पुर्जा वितरण भैरहेको छ।

चितवन जिल्लामा रहेका सात हजार ३३५ भूकम्प प्रभावितमध्ये पहिलो किस्ता बुझ्नेको संख्या पाँच हजार ४२३ रहेको छ। तर दोस्रो किस्ता लिने भूकम्पपीडितहरु जम्मा ७९५ छन्।

तेस्रो किस्ता लिने ३० जना मात्रै छन्। उनीहरुलाई कार्यालयले घर निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार दिएको छ। डीपीसी गरेपछि एक लाख ५० हजार र छानो छाउने बेलामा ५० हजार रुपैयाँ दिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.