राजनीति

सामाजिक सञ्जालमा आपत्ति जनाउदै एमाले नेताहरु

असार २९, २०७३

    काठमाडौं: माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएर संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ। मंगलवार बेलुकी सत्तारुढ दल र नेकपा एमालेको स्थायी कमिटी बैठक बसेर माओवादीले सत्तारुढ गठबन्धन छाडेर काँग्रेससँग साठगाठ गरेको भन्दै आपत्तिजनक निर्णय भन्दै टिप्पणी गर्‍यो।

    त्यसयता प्रधानमन्त्री केपी शर्मा ओली र एमाले चुपचाप जस्तै छ। बुधवार पार्टीको औपचारिक कुनैपनि बैठक छलफल नभएको एमाले स्रोतले जनाएको छ। बुधवार दिउँसो २ बजे एमाले संसदीय दलको बैठक बस्ने भनिएपनि बैठक भने बसेन।

    माओवादी र काँग्रेस मिलेर संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता गर्दा समेत एमाले किन चुपचाप छ भनेर चासो दिइरहेको अवस्थामा एमाले नेताहरुले भने सामाजिक सञ्जालमा माओवादीको कदम आपत्तिपूर्ण भन्दै टिप्पणी गरिरहेका छन्।

    एमाले महासचिव इश्वर पोखरेलले बुधवार फेसबुकमा स्टाटस लेख्दै हिजोका दिनमा संविधान जारी गर्न नदिने शक्तिहरु नै अहिले संविधान कार्यान्वयन हुन नदिनका लागि ओली सरकार ढलाउन लागिपरेको र सोही जालमा माओवादी केन्द्र फसेको बताएका छन्।

    'विगतमा संविधान जारी गर्न नदिने तत्वहरू यतिबेला जारी भएको संविधान कार्यान्वयन नहोस् भन्ने चाहिरहेका छन् र त्यसै हिसावले ज्यानफालेर संविधान कार्यान्वयन हुन नदिन लागिपरेका छन्', पोखरेलले भनेका छन्, 'यस्तो हुनु भनेको मुलुकलाई थप अस्थिरता र अनिश्चितता तर्फ धकेल्नु र स्वाभिमानका साथ यसको शीर उठ्न नदिनु हो। मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढ्न नदिनु हो।'

    एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी कदमपछि ट्विटर र फेसबुकमार्फत माओवादीले दुर्भाग्यपूर्ण कदम चालेको भन्दै आएका छन्।

    बुधवार पनि ट्विट गर्दै पोखरेलले संसद बाहिरको सरकार परिवर्तनको खेललाई संसदभित्र ल्याउने प्रधामन्त्रीको केपी ओलीको प्रयास अविश्वास प्रस्तावका कारण सफल भएको बताएका छन्। उनले लेखेका छन्, 'संसद बाहिरको सरकार परिवर्तनको खेललाई संसदभित्र ल्याउने प्रम ओलीको प्रयास अविश्वास प्रस्तावका कारणले सफल भो। अव गरौ स्वाभिमानको बहस संसदमा ।'

    एमाले केन्द्रीय सदस्य रामकुमारी झांक्रीले नेताहरुले जनतासँग गरेका बाचा बिर्सेर सत्ता परिवर्तनको खेलमा लागेको भन्दै दुःख व्यक्त गरेकी छिन्। फेसबुकमा स्ट्याटस लेख्दै उनी भन्छिन्, '२०६२/०६३ को आन्दोलनको म्यान्डेट हामीले बिर्सियौ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, माथिल्लो सदन समानुपातिक समावेशी, प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित र करीव ५ प्रतिशत थ्रेसहोल्ड भनेर हामी जनतासँग दोस्रो संविधानसभाको चुनावमा गएका थियौ। जनतालाई दिएको बाचा बार्सनु हाम्रो भूल थियो।'

    सहमति र सहकार्य भन्दै दलहरुले पालैपालो सहमति तोड्दै जनतालाई धोका दिएको उनले भनेकी छिन्। 'पोहोर साल कांग्रेसले तोड्यो, यस पटक माओवादीले, संसदीय राजनीतिमा एउटा मात्र दल ईमान्दार भएर हुदोरहेनछ', उनले भनिन्, 'एमालेले गरेका सहमतिमा आज पनि ईमान्दार छ। यो पार्टीमा हामीहरू पनि छौ ताकि पार्टीलाई खबरदारी पनि गर्न सक्छौ। माओवादीले सरकारलाई दिएको समर्थन संसदीय पद्दती अनुसार फिर्ता गरोस्। निला प्लेटको गाडीहरू बीच स्याम्पेन छर्कदै वक्तब्य बाजी गरेर होईन। संसदीय मर्यादा र लोकतान्त्रिक पद्दतीसंगत बाटोबाट आओस नेकपा एमाले त्यसलाई विधिसम्मत ढंगले फेस गरेर अगाडी बढ्न तयार छ। यो नौ महिना नेपाली जनताले ठूलो संकटको सामना गर्नु पर्‍यो।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]