समाज

प्रधानमन्त्रीको गृहजिल्ला सडकआश्रित मानवरहित घोषणा

पुस ९, २०७७

    भद्रपुर : प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियानअन्तर्गत आजदेखि प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा सडक आश्रित मानवरहित जिल्ला घोषणा भएको छ। 

    सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीका सडक मानवहरूको उद्धार गरी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने अभियानअन्तर्गत पहिलो चरणमा झापा सडक मानवमुक्त घोषणा भएको हो। 

    अभियान अन्तरगत जिल्लाका सडकमा रहेर जीविकोपार्जन गर्दै आएका ७६ जनालाई मानव सेवा आश्रममा पुनःस्थापना गरिएको छ। जिल्लाको मेचीनगर नगरपालिकाका २९, कन्काई नगरपालिकाका १५ , दमक नगरपालिकाका १३,  बिर्तामोड नगरपालिकाका ७, गौरीगञ्ज गाउँपालिकाका ५ जना, बुद्धशान्ति गाउँपालिकाका ४ , भद्रपुर नगरपालिकाका ३ गरी ७६ जनालाई सडक मानवको पुनर्स्थापना गरिएको हो। 

    सरकारले सडक मानवमुक्त मुलुक घोषणा अभियानअन्तर्गत मानव सेवा आश्रमको सहयोगमा यो कार्यक्रम सुरु गरिएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए। प्रदेश –१ को झापा, मोरङ र सुनसरीको सडक पेटीमा रहँदै आएका मानिसको उद्धार कार्यक्रम आजबाट सुरु भएको उनले बताए। 

    त्यस्तै  मानव सेवा आश्रमले बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवको अवस्था अध्ययन तथा वितरण संकलन, उद्धार औषधोपचार, पालनपोषण, जीविकोपार्जनसम्बन्धी तालिम, पारिवारिक पुनर्मिलन र परिवारमा पुनर्स्थापना हुन नसकेका बेसहाराहरूको दीर्घकालीन संरक्षण गर्दै आएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।  

    आश्रमले अहिले विराटनगरमा दुई वटा घर भाडामा लिएर उद्धार गरिएका मानिसलाई राखिने गरिएको अध्यक्ष अधिकारीले बताए। 'घर भाडा विराटनगर महानगरपालिकाले तिर्दै आएको छ, चालु आर्थिक वर्षमा नै प्रदेशस्तरीय मानव सेवा भवन निर्माण गर्छाैं।'

    त्यसैगरी प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले झापाको काँकडभिट्टादेखि दमकसम्मको सडकमा भोको पेटसहित भौँतारिएका नागरिकलाई आश्रमले पुनर्जीवन दिएको बताइन्।

    सरकारले लिनुपर्ने सडक मानवको अभिभावकत्व मानव सेवा आश्रमले लिएको भन्दै उनले आश्रमको प्रशंसा समेत गरिन्। सडक मानवमुक्त मुलुक घोषणा गर्ने अभियानमा मानव सेवा आश्रममाथि भरोसा रहेको उनको भनाइ छ।

     कन्काई नगरपालिकाको खानेपानी कार्यालय आयोजित कार्यक्रममा नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार सिवाकोटी, उपमेयर पवित्रा प्रसाईं, मेचीनगर नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईं, दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायतको सहभागिता थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]