समाज

ग्रामीण विद्युतीकरणको रकम हिनामिना, वडाध्यक्षकै कारण बलेन बिजुली

फर्जी बिल पेस गरी रकम कुम्ल्याइयो!

पुस १०, २०७७

    ओखलढुंगा : सिद्धिचरण नगरपालिका–१० बेतिनीका कृष्णबहादु थापा मगर गाउँमा बत्ती बल्ने भयो भनेर हर्षित भएको पनि ३ वर्ष बितिसक्यो। गाउँमा बत्ती बलेन। उनी मात्र हैन, गाउँपारिको उज्यालो हेरेर बसेका बेतिनी रुप्सेको मगर बस्तीका सबै बुढापाकाको खुसी कहिल्यै पूरा हुन सकेन।

    नजिकै सदरमुकाममा बिजुली बलेको ३५ वर्ष पुग्न लाग्दा पनि आफूले बत्ती बालेर मर्ने धोको अझै पूरा मगर समुदायको। नगरपालिकाले २०७५–०७६ मा वडा नं. १० बेतिनीको रुप्सेमा केन्द्रीय विद्युत् विस्तारका लागि विनियोजन गरेको १५ लख ९९ हजार विनियोजन गरेको थियो।

    यसरी नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि रकम विनियोजन गरेपछि आफूले मत दिएर जिताएका जनप्रतिनिधि देख्दा खुसी भएका रुप्सेवासी अहिले निराश छन्। 

    कथा यस्तो छ बिजुलीको

    केन्द्रीय विद्युत विस्तारका लागि नगरपालिकाबाट २०७५–०७६ मा प्राप्त पुँजीगत पूर्वाधार विकास अनुदानबापत रकमको वास्तविक कथा अर्कै रहेका कारण रुप्सेवासी अझै अँध्यारोमा छन्। 

    रुप्सेका लागि जनसहभागिता १ लाख ९९ हजारसहित १५ लाख ९९ हजार ६ सय ३७ रुपैयाँ स्टिमेट गरिएको केन्द्रीय विद्युत् पोल तार ट्रान्सफर्मर खरिद योजनाका लागि १४ लाख अनुदान उपलब्ध गराएको थियो। तर न त जनसहभागिता भयो न त बिजुली नै बल्यो।

    रुप्सेमा बत्ती बाल्न सिद्धिचरण नगरपालिका–१० का वडाध्यक्ष दामोदर धमलाले आफू निकटकालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम सुरु गरे। तर काम भएन। नगरपालिकामा योजना फरफारक भइसकेपछि मात्र स्थानीयले वडाअध्यक्षको मिलेमतोमा विद्युतीकरणमा आएको रकम हिनामिना भएको मेलो पाए।

    ३ वर्षदेखि साबिक बेतिनि १, २, ३, ४ र ५ मा बत्ती झिलिमिली बलेको भए पनि आफ्नो गाउँमा बिजुलीका लागि पैसा आएको भए पनि र मगर गाउँ भएकैले ६, ७, ८ र ९ मा बिस्तार भएन। 

    कारण मगर सोझो हुने भएकाले हिसाब लटरपटर पारेर सकिन्छ भनेर काम नगरेको स्थानीय चेतबहादुर मगरको आरोप छ। नगरपालिकाले बजेट दिएको भए पनि नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गाबाट पोल, तार र ट्रान्सफर्मर अनुदानमा ल्याएर कहाँ के गरे भन्ने अत्तोपत्तो नपाएको उनले बताए।

    'वडाध्यक्षकै संलग्नतामा भ्रष्टाचार भएको छ भन्ने पो सुनिन्छ, अझ नगर प्रमुख मोहनकुमार श्रेष्ठले वडाध्यक्षलाई संरक्षण गरेको भन्ने हल्लाले हामीले राज्य लुट्न जनप्रतिनिधि बनाएछौं भन्ने अनुभूति भएको छ,' मगरले दुख पोखे। 

    वडा अध्यक्षको कारण विद्युत् विस्तार भएन

    सिद्धिचरण नगरपालिका–१० को बेतिनीमा विद्युतीकरणका लागि विद्युत प्रधिकरणबाट १४ लाख र नगरपालिकाबाट २ लाख जनसहभागितासहित १५ लाख ९९ हजार विद्युत् विस्तार हुन नसकेको अनुगमन समिति संयोजक जीवनाथ धमलाले बताए।

    करिब ४ लाख खर्च गरी बाँकी रकमको फर्जी बिल बनाएर भ्रष्टाचार गरेको पनि उनले बताए। विद्युत् प्राधिकरण र नगरपालिकाबाट सूचना माग गरी अध्ययन गर्दा योजनाको रकम हिनामिना गरेको पाइएको धमलाको भनाइ छ।

    प्राधिकरणले दिएको ७३ थान पोल गाड्न र खाजा खर्च गरी अधिकतम चार लाखभन्दा खर्च नभएको उनको जिकिर छ। वडाअध्यक्षको संलग्नतामा रकम हिनामिना भएका कारण गाउँ नै अँध्यारोमा बस्न बाध्य भएको उनले बताए।

    विनियोजन भए पनि वडामा स्टिमेटअनुसार ​काम नभएका कारण अख्तियारमा मुद्दा  परेको र बिस्तार हुन नसकेको रुप्सेका स्थानीय मोहन मगरले जानकारी दिए।

    सदरमुकामको उज्यालो हेरेर वर्षौं बिताएका आफूहरुको उज्यालोमा बस्ने सपना वडाध्यक्षको मिलेमतोमा चकनाचुर भएको उनले गुनासो गरे। 

    अनुदानको सामानमा लहानको बिल

    विद्युत् प्राधिकरण वितरण केन्द्र ओखलढुंगाबाट पोल, तार र ट्रान्सफर्मर अनुदानमा ल्याए पनि सिरहाको लहानबाट फर्जी बिल बनाएर ल्याइएको पाइएको छ। 

    योजनाका लागि प्राधिकरणले ८ मिटरका ६६ थान, ९ मिटरका ७ थान पोल, ९ थान स्टे सेट, ०.०३ को ५ किमि तार र २५ केभी को १ थान ट्रान्सफर्मर उपलब्ध गराएको प्राधिकरण ओखलढुंगाले जनाएको छ।

    तर उपभोक्ता समितिले नगरपालिकामा पेस गरेको बिल ९ मिटरका १० थान पोल खरिद गरेको उल्लेख गरिएको भए पनि उक्त पोल फिल्डमा कतै देखिएको छैन।  विद्युत् विस्तार योजनामा अनियमितता भएको विषयमा सम्बन्धित पक्षबाट छानबिनसमेत नभएको स्थानीयले गुनासो गरेका छन्। 

    नगरपालिकाले विनियोजन गरेको बजेटबाट तार र पोल किनेको भन्दै वडाध्यक्ष दामोदर धमलाको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमलाले फर्जी बिल बनाएर योजना फरफारक गरेको नेकपा जिल्ला कमिटी सदस्य स्थानीय डुकराज धमलाले आरोप लगाए।

    लहानस्थित नमामी सप्लायर्सले जारी गरेको बिल अनुसारका पोल तथा तारहरु फिल्डमा एउटा पनि नभएको र ८ फुटे र ९ फुटे सबै पोलहरु प्राधिकरणले दिएको र तारसमेत पुराना प्रयोग गरी आयोजनाबाट मोटो रकम अनियमितता गरेको उनको आरोप छ।

    के भन्छन वडा अध्यक्ष?

    स्थानीयको आरोप भए पनि वडामा आफूले निरन्तर विकासका काम गरिरहेको वडाध्यक्ष दामोदर धमलाले बताए। विद्युत् प्राधिकरणले दिएका पोल तार तथा ट्रान्सफर्मर जडान गरि वडाको आधा भूभागमा विद्युतीकरण गरिएको र अन्य स्थानमा पनि काम धमाधम भइरहेको उनले बताए। 

    केही मानिसले राजनीतिक प्रतिशोधका कारण आफूलाई नङ्ग्याउन आरोप लगाएका उनको भनाइ छ। 

    छानविन नै भएन

    विद्युत् योजनामा व्यापक भ्रष्टाचार भएको प्रमाणसहित प्रमुख जिल्ला अधिकारीलगायत निकायमा ध्यानाकर्षण गराउँदासमेत समयमै छानबिन नभएको स्थानीयको भनाइ छ।

    नगरपालिका तथा जिल्ला प्रशासनको अनुगमन टोलीसमेत आएर अनुगमन गरेको भए पनि आजसम्म छानबिन नगरेको स्थानीय देवीस्थान लघुजलविद्युत् योजनाका अध्यक्षसमेत रहेका गुणराज धमलाले गुनासो गरे।

    बेतिनीबासीहरुले वडाध्यक्ष समेतको संलग्नतामा भएको अनियमितताको छानबिन गर्न नगरपालिका र प्रमुख जिल्ला अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराएका भए पनि तर अझै छानबिन हुन नसकेको स्थानीय पदम बास्तोलाले बताए। वडाध्यक्षमार्फत आएका पोलसमेत सोलु हाइड्रोको भएको कारण यस्ता भ्रष्टहरुलाई कारबाही हुनुपर्ने उनको माग छ।

    स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदासमेत स्थानीय तह र प्रशासनले त्यसलाई बेवास्ता गरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्याएको उजुरीलाई सहजीकरण गर्नुको सट्टा अख्तियारको टोलीलाई स्थलगत अनुगमनमा जानबाट रोकेर नगरपालिकाले मिलेमतोमा योजना फरफारक गरी बजेट दुरुपयोग गरेको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका उपसभापति रमेश धमलाले आरोप लगाए।

    हाल ठड्याइएका पोल प्राधिकरणले दिएको र त्यसैलाई किनेको नक्कली बिल पेस गरी नागरिकलाई झुक्याएर वडाध्यक्ष सहित उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको प्रस्ट भएको उनले बताए।

    अख्तियारमा फाइल पुग्यो

    विद्युत योजनामा भएको अनियमितताका विषयमा बिल भरपाई झिकाइ अध्ययन गर्दा केही कमजोरी देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएकाले थप छानबिनका लागि आयोग प्रदेश कार्यालय इटहरीमा फाइल पठाइसकिएको प्रजिअ पौडेलको भनाइ छ।

मनोज भट्टराई

भट्टराई थाहा खबरका ओखलढुंगा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]