समाज

मासिकश्रावमा सुरक्षित राख्ने स्यानिटरी प्याडले वातावरण असुरक्षित बनाउँदै

पाँच वर्षमा ९ अर्बभन्दा बढीको आयात, यस्तो छ विकल्प

पुस १२, २०७७

    काठमाडौं : युवती तथा महिलाको मासिक रक्तश्राव हुँदा प्रयोग गरिने स्यानटरी प्याड अहिले फोहोरको मुख्य स्रोत बन्दै गएको छ। एउटै घरबाट महिनामा ३० वटासम्म स्यानटरी प्याड फोहोरका रूपमा फ्याँकिने गरेको सफाइकर्मीहरू बताउँछन्‌।

    अस्पतालबाट पनि प्याडजन्य फोहोर निस्किने गरेका छन्। प्याडजन्य फोहोर व्यवस्थापन गर्दा किटाणु नष्ट गरी डस्टबीनमा फाल्ने गरेपनि व्यवस्थापनमा भने चुनौती थपिँदै गएको छ।

    बजारमा अहिले महिलाले मासिकश्रावको समयमा प्रयोग गर्न विभिन्न प्रकारका स्यानिटरी प्याड पाइन्छन्। तर, यसरी बजारमा पाइनेमध्ये अधिकांश प्याड पुन: प्रयोग गर्न नमिल्ने खालका छन्‌। वातावरण प्रदुषण तथा फोहोरको मुख्य स्रोत बनेको छ। प्याड उत्पादक कम्पनीले स्यानटरी फोहोर व्यवस्थापन गर्न डस्टबिन उपलब्ध गराउनुपर्ने आवाज पनि उठ्दै आएको छ।

    काठमाडौं उपत्यकाका विभिन्न महानगरपालिका तथा नगरपालिकाबाट फोहोर संकलन गर्ने निजी कम्पनीले महिलाको मासिकश्रावको समयमा प्रयोग गर्ने स्यानटरी प्याड व्यवस्थापन चुनौती बनिरहेको बताउँदै आइरहेका छन्।

    फोहोरको स्रोत बन्दै

    पहिले घरबाट निस्कने फोहोरको धेरै अंश भान्साबाट निस्कने फोहोर हुने गरेकोमा अचेल स्यानटरी प्याड बढी हुन थालेको फोहोर संकलक ब्लु वेस्ट टु भ्यालु कम्पनीका निर्देशक नवीन विकास महर्जन बताउँछन्। सिसडोलमा लगिने फोहोरमध्ये २० प्रतिशत त स्यानिटरी प्याड नै हुने गरेको उनले जानकारी दिए। उनका अनुसार उपत्यकामा स्यानटरी प्याडको फोहोर बढ्दै गएको छ।

    घरको भान्सा कोठाबाट सबैभन्दा धेरै फोहोर उत्पादन हुने ठानिन्छ। सागसब्जीदेखि खपत नभएका खानासम्म फोहोरकै गाडीमा फाल्ने खराब बानी विशेषगरी शहरीयाहरूमा व्याप्त छ। सामान्यतया: भान्सा कोठाबाट दैनिक एकदेखि दुई किलोसम्म फोहोर उत्पादन हुनेगर्छ। पहिले-पहिले खाना, तरकारी र दूधका प्याकेटलाई मात्र फोहोर ठानिन्थ्यो। अहिले भने बिस्तारै फोहोरका अन्य स्रोत पनि थपिँदै गइरहेको छ।

    'प्याड फोहोरको मुख्य स्रोत बनेको हुनाले यसलाई घरबाट निस्कने समयदेखि व्यवस्थापन गर्ने सल्लाह भइरहेको छ,' उनले भने, 'घरधनी र फोहोर संकलकले यसका लागि समन्वय गर्ने भनिरहेका छौं।' तौलको हिसाबले भने प्याड अन्य फोहोरभन्दा निकै कम हुने गरेको उनी बताउँछन्‌।

    सिसडोलबाट फोहोरको रूपमा लगिएका प्याडलाई संकलन गरी त्यसलाई डिटर्जेन्ट्सको प्रयोग गरेर पुनः प्रयोग गर्ने गरिएको पनि उनले जानकारी दिए। फाइबरका सामग्री बनाउन प्याडको प्रयोग भइरहेको छ। त्यसको लागि विभिन्न कम्पनीहरुले त्यसको काम गरिरहेका छन्।

    'प्याड संकलन गर्न छुट्टै डस्टबिन'

    काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार घर र अस्पतालबाट निस्कने प्याडजन्य फोहोरलाई व्यवस्थापन गर्न महानगरले काम गरिरहेको छ। वडा कार्यालयमार्फत र फोहोर संकलक निजी कम्पनीमार्फत त्यस्ता फोहोरलाई छुट्टै डस्टबिनमा राख्न आग्रह गरिएको उनले दावी गरे।

    'केही निजी कम्पनीले त्यस्ता प्याडको पुनः प्रयोग गरिरहेको पनि सुन्नमा आएको छ,' श्रेष्ठले भने, 'प्याडजन्य फोहोर घरबाट भन्दापनि अस्पतालबाट बढी निस्किरहेको छ, सबै फोहोर सिसडोलमा लाने गरिएको छ।'

    प्रयोगकर्ताले पनि प्याडजन्य फोहोरलाई छुट्टै व्यवस्थापन गर्न उनी सुझाउँछन्‌। महानगरले सिसडोलमा कुहिने र नकुहिने फोहोर लाने गर्छ। कम्पोष्ट मल बनाउन मिल्ने फोहोरलाई वडाको विभिन्न स्थानमा व्यवस्थापन गर्ने गरिएको उनले बताए।

    पाँच वर्षमा ९ अर्ब रुपैयाँको प्याड आयात

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार विदेशबाट वर्षेनी प्याड आयात हुने गरेको छ।

    भारत र चीनबाट सबैभन्दा बढी आउने गरेको छ। पाँच वर्षमा मात्र १ अर्ब ३६ लाख ९० हजार ७ सय ६ गोटा प्याड आयात भएको छ। गत वर्ष २३ करोड ९२ लाख ५ हजार ४ सय ७४ गोटा आयात भएको थियो।

    पाँच वर्षमा ९ अर्ब ३२ करोड २९ लाख ७० हजार ५ सय १९ रुपैयाँ बराबरको स्यानटरी प्याड आयात भएको केन्द्रले जानकारी दिएको छ। बजारमा प्रतिगोटा ४० रूपैयाँदेखि माथिको प्याड पाइन्छ।

    'स्यानटरी प्याड वातावरणमैत्री छैनन्'

    पूर्व मिस नेपाल माल्भिका सुब्बाले चार वर्षयता मासिकश्रावका बेला कप प्रयोग गर्दै आइरहेका छिन्। वातावरणमैत्री हुने र यात्रा गर्दा सहजै लिएर जान मिल्ने भएकोले पनि स्यानिटरी प्याडको साटो कप प्रयोग गरिरहेको उनी बताउँछिन्‌।

    अर्थ र समय बचत हुने​ तथा सफा गरेर पुनः प्रयोग गर्न मिल्ने भएकोले कपको प्रयोग गरिरहेको उनको भनाइ छ।

    'एकपटक किनेको कप १० वर्षसम्म प्रयोग गर्न मिल्छ, स्यानिटरी प्याड किनिरहनुपर्ने झन्झट हुँदैन, स्यानटरी प्याडले वरीपरिका वातावरणमा फोहोर बढ्दै गएको छ,' सुब्बाले भनिन्‌, 'अहिले फोहोर संकलन गर्ने गाडीमा अन्य फोहोरसँगै स्यानिटरी प्याड पनि रहने गरेको छ।'

    'कपडाका प्याड प्रयोग गरौं'

    केमिकल र प्लाष्टिक नहुने हुनाले कपडाको प्याड पुनः प्रयोग गर्नमिल्ने प्याड म्यान अफ नेपालका ज्ञानु महर्जन बताउँछन्। कपडाको प्याड वातावरणमैत्री हुने भएकोले यसको प्रयोग एकदमै उपयोगी रहेको उनले बताए।

    'एकपटक खरिद गरेपछि २ वर्षसम्म प्रयोग गर्न मिल्छ,' उनले भने, 'वातावरणीय दृष्टिकोणले यो उपयुक्त हुने गरेको छ। फोहोर फाल्ने ठाउँमा प्याडमात्र बढी हुने गरेको छ।' स्वास्थ्यचेत भएका महिलाले यस्तै प्याड लाने गरेको महर्जनले बताए।

    पहिलेभन्दा अहिले कपडाको प्याड किन्नेको संख्या बढ्दै गएको महर्जनले जानकारी दिए।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]