समाज

बर्दिया राष्ट्रिय निकुञ्ज खरखडाइका लागि तीन दिन खुला

पहिलो दिन झण्डै २५ हजार स्थानीय निकुञ्ज प्रवेश

पुस ११, २०७७

    बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि हरेक वर्ष जस्तै यस वर्ष पनि शनिबारबाट खरखडाइका लागि निकुञ्ज खुला गरेको छ। निकुञ्ज १३ गते सोमबारसम्म खुला रहने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद जानकारी दिए।

    बिहान सूर्य उदय भएपछि निकुञ्जभित्र प्रवेश गरी सूर्यास्त भएपछि बाहिर निस्किनु पर्ने निकुञ्जले जनाएको छ। निकुञ्जजभित्रबाट खर, बाबियो र कुँचो ल्याउन पाइने निकुञ्जले जनाएको छ। साथमा पुर्जी नभएका तथा पुराना पुर्जी लिएर निकुञ्ज प्रवेश गर्नेलाई कारबाही गरिनेसमेत जनाइएको छ। 

    १६ वर्ष नपुगेका केटाकेटी तथा वृद्धवृद्धा र अशक्तले निकुञ्जभित्र प्रवेश गर्न पाउने छैनन्। ८, ९ र १० गते ३ दिन यस क्षेत्रका बासिन्दालाई पुर्जी वितरण गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिए। 

    निकुञ्ज प्रवेसका लागी खर खडाई र संरक्षण शुल्कबापत प्रतिपुर्जी १०० रुपैयाँ तोकिएको छ। खरखडाइका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालुलगायत वन्यजन्तुको आक्रमणमा परि बर्सेनि स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ। त्यसकारणले निकुञ्ज प्रवेश गर्दा समुहमा प्रवेश गर्न र सुरक्षा सावधानी अपनाउन निकुञ्ज प्रशासनले आग्रहसमेत गरेको छ। 

    निकुञ्जभित्र वन्यजन्तुलाई लखेट्ने, धपाउने, मार्ने तथा तिनका अंगहरू साथमा ल्याउने, माछा मार्ने विष हाल्नेलाई पक्राउ गरी मुद्दा चलाइनेसमेत निकुञ्जले जनाइको छ। निकुञ्जभित्र वन्यजन्तुको खतरा हुने भएकाले सावधानी अपनाउन सम्पूर्णमा बर्दिया राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ।

    पहिलो दिन झण्डै २५ हजार स्थानीय निकुञ्ज प्रवेश 

    निकुञ्जले ३ दिनका लागि निकुञ्ज प्रवेश खुला गरेसँगै बर्दियाका सबै स्थानीय अहिले निकुञ्जभित्रै खर काट्न व्यस्त छन्। बर्दिया क्षेत्रका झण्डै ३० हजार मानिस निकुञ्ज प्रवेश गरेको अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। 

    ’झण्डै २० हजार मानिस पहिलो दिन नै निकुञ्ज प्रवेश गरेको अनुमान गरिएको छ’, उनले भने,’ ३०,३५ हजारको हाराहारीमा पुर्जी वितरण भएको थियो। ३ दिन सम्ममा ३५ हजार बढी स्थानीय निकुञ्ज प्रवेश गर्ने अनुमान गरिएको जनाइएको छ।

    घर छाउन, बेर्न, खटिया, भकारी बनाउन, डोरी, दाम्ला लगायतका काममा प्रयोगमा आउने खर खरिया काट्न स्थानीय हरेक वर्ष जोखिम मोलेर निकुञ्जभित्र पस्ने गर्छन्। निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि भन्दै प्रत्येक वर्ष खर खडाइ काट्न प्रवेश खुला गर्दै आएको छ। 

    बर्दियामा वर्षमा १ पटक निकुञ्ज खुला गरिन्छ। त्यो पनि तीन दिन। यो तीन दिन बर्दियाको मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि पर्वजस्तै हो। बर्दियाका ८ वटै स्थानीय तहका बासिन्दा एकसाथ निकुञ्ज प्रवेश गर्छन्। आफ्नो घर वरपर, छरछिमेकका स्थानीय जम्मा भएर रमाउदै निकुञ्जभित्र खर तथा बावियो काट्न जाने गर्छन्।

    ’सबै सँगै रमाउँदै निकुञ्ज प्रवेश गर्दा एकदमै रमाइलो हुन्छ’ एकजना स्थानीयले भने, ’तर जंगली जनावरको खतरा हुने भएकाले अलि डर पनि लाग्छ।’ अहिले निकुञ्ज खुला गरेसँगै बर्दियाका गाउँघर प्राय खाली भएका छन। सबै निकुञ्ज तिरै व्यस्त छन्।

    गाउँमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्ति मात्रै देख्न सकिन्छ। एकै घरबाट ३ देखि ४ वटासम्म पुर्जी लिएर स्थानीय निकुञ्ज प्रवेश गर्ने गर्छन्। केहीले भने एउटै पुर्जी लिएर पालैपालो निकुञ्ज प्रवेश गर्नेसमेत गरेका छन्।

    लाखौं राजस्व संकलन

    निकुञ्ज प्रवेशका लागि खर खडाई र संरक्ष्ण शुल्कबापत प्रतिपुर्जी १०० रुपैयाँ तोकिएको छ। जसबापत निकुञ्जमा लाखौ बराबरको राजस्व संकलन भएको जनाइएको छ। निकुञ्ज खुलेका समयमा निकुञ्ज भित्रका जनावरबाट आक्रमण भएमा पुर्जी साथमा भएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

    पुर्जी साथमा नभएपछि भने निकुञ्जले जोखिम व्योहोर्दैन। खर खडाइका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आक्रमणमा परी बर्सेनि स्थानीयले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ। जंगली जनावरको आतंक हुने भएपछि जोखिम मोलेर भए पनि स्थायीय निकुञ्ज प्रवेश गर्ने गरेका छन्।

    गएको वर्ष पुष १९ गतेबाट निकुञ्ज खुला गरिएको थियो। हरेक वर्ष चिसोको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि खुला गरिँदै आएको छ। ँ


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]