राजनीति

चिनियाँ उपमन्त्री आज काठमाडौं आउँदै

पुस १२, २०७७

    काठमाडौं : चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ। 

    नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय चिनियाँ टोली आउन लागेको हो। 

    उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।  

    ‘चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्तापक्षको नेकपा र सत्ताबाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि  समय लिने काम भएको छ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भनेभने, ‘उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नुभएजस्तो लाग्छ।’

    नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो। 

    चीनले  नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो। सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो। विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो।

    तर, उसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेसम्मको कदम चालिहाल्छन् भन्ने विश्वास गरेको थिएन। ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ। त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन्। 

    कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]