समाज

कञ्चनपुरमा गाई-भैंसीको पाठेघर फर्कने समस्या बढ्दै

पुस १२, २०७७

    कञ्चनपुर : जिल्लाका किसानहरूले पालेका गाई-भैंसीमा पाठेघर फर्कने समस्या बढ्न थालेको छ।

    गाईभैंसी ब्याउनुअघि, ब्याउने बेला र ब्याएको ६ महिनासम्म समेत पाठेघर फर्कने समस्या ल्याएर पशु सेवा केन्द्रमा पुग्ने पशुपालक किसानको संख्या बढिरहेको छ। पाठेघर फर्कने समस्या विगतको तुलनामा ब्याउने गाई भैंसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको छ । 

    विगतमा यो समस्या एक प्रतिशत मात्रै रहेको पशु विज्ञहरूको भनाई रहेको छ। पाँच वर्षयता यो समस्या बढिरहेको छ। गाई-भैंसी ब्याउनुअघि र पछिको समयमा मात्रै देखिँदै आएको पाठेघर खस्ने समस्या पशुले गर्भधारण गरेको ३ महिना पछिको समय र ब्याएको ६ महिनापछि देखिन थालेको छ। समस्या बढ्दै जाँदा पशुपालक किसानहरू निकै चिन्तित हुन थालेका छन्। 

    ‘ब्याएको तीन महिना पछि मात्रै भैँसीमा पाठेघर फर्कने समस्या देखा परेको’ झलारीका पशुपालक अंक बहादुर ऐरले भने, ‘भैँसीमा कहिल्यै यस्तो समस्या देखिएको थिएन, पहिलो पटक देखियो. पशु प्राविधिकको सहयोगमा पाठेघरलाई पुरानै ठाउमा फर्कायौँ।’

    पाठेघर फर्कने समस्या भएका दुधालु गाई भैंसीलाई पशुपालकहरूले भारतीय व्यापारीहरूलाई सस्तोम} बेच्ने समेत गरेका छन्। यसो गर्दा किसानहरूले निकै घाटा व्यहोर्नुपरेको छ। 

    पछिल्लो समय रासायनिक मल र विषादी अत्यधिक प्रयोग गरेको घाँस ब्याउने र ब्याइसकेका गाईभैँसीलाई खुवाउन थालिएपछि यसले पाठेघर फर्काउने समस्या बढाएको शुक्लाफाँटा नगरपालिकाका पशु विकास अधिकृत नारायणप्रसाद भट्टले बताए।

    ‘पहिले नगन्य मात्रामा मात्रै यस्तो समस्या देखिने गरेको थियो,’ उनले भने, ‘हाल हप्तामा एक जना पशुपालक यो समस्या लिएर पशु शाखामा उपचारका लागि पुग्ने गरेका छन्।’ पोटासियम पदार्थ बढी भएको धानको ब्रानलाई चारोका रुपमा खुवाउँदा समेत यो समस्या निम्तिएको उनको भनाई रहेको छ।

    इस्ट्रोजन पदार्थ बढी भएको घाँसपात र ढुसी परेको दाना खुवाएमा, पाठेघरमा असजिलो भै पशु बढी कनेमा, पशुको पछिल्लो भाग ओरालो भएमा, बाच्छा-बाच्छी ठूलो भएमा, पाठेघरभित्र बसाई नमिलेमा, पाठेघरको मुख पूर्ण रुपमा नखुलेमा र उमेर नपुग्दै पशु ब्याउने भएमा भण्डार खस्ने समस्या देखिने गरेको छ। 

    आन्तरिक प्रतिजीवी, कुपोषण, कब्जियत र रक्तअल्पताको कारणले समेत पाठेघर खस्ने समस्या देखिने गरेको भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए। ‘पहिला यो समस्या फाट्टफुट्ट रुपमा मात्रै देखिने गरेको थियो’ उनले भने, ‘हाल व्यवसायिक रुपमा पशुपालन हुन थालेपछि बढी देखिन थालेको छ।’ 

    यस समस्यालाई बुंगो निस्कने वा भडाँरो फर्कने समेत भन्ने गरिएको उनले बताए। हरियो कमलो भुत्ला भएको घाँस खुवाउँदा समेत समस्या देखिने गरेको छ। उनका अनुसार पशुलाई पाठेघर फर्कने समस्या भएमा सुतको भाग फुल्ने, थुन पग्रने, सुतबाट भेजिना बाहिर निस्कने हुन्छ । 

    यस्तो लक्षण देखाउने पशुलाई बस्ने ठाउँ अगाडीको भन्दा पछाडिको भाग अग्लो बनाउने, हरियो घाँस ओइलाए पछि मात्रै दिने, खानेकुरा दिँदा एकै पटक टन्न गरेर नदिने गर्नुपर्छ।

    पाठेघर फर्कने समस्या देखिन थालेपछि पशु प्राविधिक संग सल्लाह लिने वा पशु प्राविधिक बोलाएर समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने हुन्छ। सालको राम्रोसँग व्यवस्थापन गर्न नसक्दा समेत कहिलेकाँही पाठेघर फर्कने समस्या हुने भएकाले होसियारी पूर्वक साल निकाल्नुपर्दछ।

    पशुले साल आफैँ नझार्दा पशुपालकले आफैँ बल गरी साल तान्दा समेत पाठेघर फर्कने समस्या हुने गरेको पाइएको पशु प्राविधिकहरूको भनाई रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]