समाज

डोल्पा एक महिनादेखि टेलिफोन र इन्टरनेट पहुँच बाहिर

पुस १२, २०७७

    डोल्पा : हिमाली जिल्ला डोल्पामा एक महिना अघिदेखि ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गरिरहेको छैन। नागरिकले सास्ती खेपिरहेका छन्‌। 

    ​जिल्लाका दुनै र जुफाल लगायतका ठाउँहरूमा राखिएका नमस्ते तथा स्काइका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा चुस्त-दुरूस्त नहुँदा सञ्‍चारमा अवरोध भइरहेको छ।

    छिनमै देखिने, छिनमै हराउने र कुरै नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न पनि घण्टौं कुर्नुपर्ने सर्वसाधारणले बताए। मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायाले फोनले काम गर्न छोडेको लामो समय भएपनि सुधारका लागि अझै प्रयास नभएको बताए।

    'सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ, बीसौँ पटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ, नत उताको यता नै ! डोल्पालीले निकै सास्ती खेप्नुपरेको छ,' रोकायाले गुनासो गरे। ​दुनैमा पनि फोन सेवाले काम नगर्दा सानो कामका लागि पनि घण्टौ हिँडेर सदरमुकाम पुग्नुपरेको उनले बताए।

    'पैसा भने काटिहाल्ने कुरा भने नहुने टावर हुनुभन्दा नहुनु नै बेस छ, बरु टावर नै राखिएको छैन भनेर त चित्त बुझाउन सकिन्छ,' उनले नेपाल टेलिकमप्रति गुनासो पोखे। 

    पटक–पटक अवरुद्ध भइराख्ने टेलिफोन टावर तथा जलविद्युत सेवाप्रवाह सुधार्न जिल्लास्थित नेतृत्व उदासिन रहेकाले नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताए। नेपाल टेलिकमको कमजोर सेवाकै कारण वर्षमा दुर्गमका नागरिकहरूले सञ्चार समस्या भोग्दै आएको उनको भनाई छ।

    लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैह्र सरकारी कार्यालयको सेवा प्रवाह समेत प्रभावित भएको छ। कमजोर सेवाका कारण हैरान भएपछि नागरिक,स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दुरसञ्चार कार्यालय धाउन थालेका छन्।

    'फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ,मिनेटमै हुने कामका लागि पनि घण्टौं कुरेर पनि हुँदैन,' डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम पंगेनीले गुनासो गरे। जनताको विकास योजना सम्झौतादेखि पेस्की रकम निकास गर्न समेत हम्मेहम्मे परेको उनको भनाई छ।

    जिल्लामा बाँडिएको एडीएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखाहरूमा भीडभाड लाग्ने गरेको छ। नयाँ खाता खोल्ने, चेक सटही गर्ने तथा बचत गर्ने लगायतका कामका लागि सर्वसाधारणको भीडभाड लाग्ने बैंकका कर्मचारीहरूले बताएका छन्‌।

    इन्टरनेटले काम नगरेकै कारण हप्तौँदेखि नयाँ खाता खोल्न जम्मा गरिएका फाइलहरू त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरि फडेराले गुनासो गरे।

    अनलाइन कक्षाका प्रयोगकर्ताहरू बढेका कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ।

    नेपाल टेलिकम क्षेत्रीय कार्यालय, नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको प्राविधिक नवराज भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]