राजनीति

नेकपा विभाजनका बेला चिनियाँ उच्चस्तरीय टोली नेपालमा, सबै नेतालाई भेट्ने

पुस १२, २०७७

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको अवस्थामा पुगेको बेलामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौँ आइपुगेको छ।

    नेकपाको विवादले अनौपचारिक विभाजनको अवस्थामा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आएको हो। 

    नेपालको बढ्दै गएको राजनीतिक घटनाक्रमबारे जानकारी लिन चार सदस्यीय चिनियाँ टोली आएको बुझिएको छ। चिनियाँ टोली एयर चाइनाको चार्टर्ड विमानमार्फत दिउँसो साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। 

    उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन नेपालमा रहने छन्। चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय गरेको छ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपामा आएको विभाजनले चीनको सक्रियता बढेको छ। नेकपा अहिले दुई समूहमा विभाजन भएपछि आएको चिनियाँ टोलीले राष्ट्रपति सि चिनफिङको सन्देश पनि सुनाउने बुझिएको छ।

    तर, नेकपाका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल चिनियाँ टोलीको भ्रमणबारे अनभिज्ञता प्रकट गर्छन्। 'चिनियाँ प्रतिनिधि मण्डलको टोली आउनुभएको भन्ने जानकारी आएको छ। तर, उहाँहरुले कसलाई भेटघाट गर्ने भन्नेबारे मसम्म जानकारी आएका छैन', उनले भने। 

    यसअघि नेकपाभित्रको विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छी राष्टपतिदेखि नेकपाका शीर्ष नेताहरुसँग निरन्तर भेटवार्ता गरेकी छन्। राजदूत यान्छीले गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेकी थिइन्।

    त्यसपछि चिनियाँ राजदूतले यान्छीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा, जनार्दन शर्मा र योगेश भट्टराईलाई पनि भेटेकी छन्। नेकपा विवाद बढिरहेको बेलामा राजदूत यान्छीले प्रधानमन्त्री ओली पक्षका नेताहरुलाई भेट गरेकी छैनन्। नेकपाभित्रको विवादले पार्टी अनौपचारिक विभाजनको अवस्थामा चिनियाँ प्रतिनिधिमण्डलको टोली नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

    चीनले  नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वास साथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो। सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो। विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो।

    कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]