राजनीति

नेकपा जोगाउन चीनको अन्तिम प्रयास

द्विपक्षीय सहयोगदेखि चिनफिङको सन्देशसम्म

पुस १४, २०७७

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अन्तिम चरण नजिक पुग्दा छिमेकी मुलुक चीनले मिलाउने प्रयास जारी राखेको छ।

    नेकपालाई मिलाउने उद्देश्यले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय टोली नेपाल आएर नेकपाको शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। 

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच विवाद बढ्दा यसअघि पनि राजदूत होउ यान्छीमार्फत चीनले साम्य पार्ने प्रयास गर्ने गरेको थियो। 

    नेकपाभित्र विवाद बढ्दै विभाजनको अवस्थामा पुगेपछि उपमन्त्री कुओ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेतासँग भेटवार्ता गरिसकेको छ। उनीहरूले नेकपाका नेताहरूलाई एक-आपसमा मिलेर जान सुझाएका मात्र होइनन्‌, जोड-दबाब नै दिइरहेका स्रोत बताउँछ। 

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको चिनियाँ टोलीले लगत्तै आइतबार राति नै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको थियो। चिनियाँ टोलीले द्विपक्षीय सहयोग र हितका प्रसंग उठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए। 

    आइतबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले गरिरहेको गतिविधि र भेटघाटका सन्दर्भलाई भने गोप्य नै राखिएको छ। चिनियाँ सुरक्षाका लागि खटिएको नेपाल प्रहरीको टोलीलाई सुरक्षा नचाहिने भन्दै फिर्ता नै गरिदिएको छ।

    नेपाल आएका गुओ यचौ उनै चिनियाँ नेता हुन्‌, जो तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि काठमाडौं आएका थिए। २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेकाे थिए। त्यसपछि नै दुई पार्टीबीच एकीकरणका लागि प्रस्ताव तयार भएको थियो।

    गुओ भ्रमणपछि सहमति भएर २०७५ जेठ ३ गते पार्टी एकता घोषणा भएको थियो। त्यसैले गुओलाई नेकपा एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ। तर, एकतापछि नै विवाद भएपछि पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले विवाद समाधानमा प्रयास गर्दै आइरहेको छ।

    राष्ट्रपतिको सक्रियता !

    नेकपाभित्रको विवादका क्रममा खुलेर राजनीतिमा लागेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आरोप लाग्‍ने गरेको छ। यस्तो आरोप नेकपाका नेताहरूले नै लगाउने गरेका हुन्‌।

    भण्डारीलाई चिनियाँ टोली र राजदूत यान्छीले भेट गर्नुले पनि उनी पार्टीभित्रको आन्तरिक विवादमा मुछिएको र प्रधानमन्त्री ओलीको गुटबाट माथि उठ्न नसकेको पुष्टि हुने नेताहरूको बुझाई छ। 

    नेकपा विवाद सल्टाउन नेपाल आएको चिनियाँ टोलीले पहिलो भेट नै राष्ट्रपति भण्डारीसँग गरेको थियो। 'चीनले समेत राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी ओलीको खेमामा हुनुहुन्छ र पार्टीभित्रको विवादमा सक्रिय रहनुभएको छ भन्ने बुझेको पाइयो,' अध्यक्ष दाहाल पक्षका एकजना स्थायी कमिटी सदस्य भन्छन्‌, ‘उहाँले आफ्नो पदीय मर्यादामा नै आँच आउने काम गरिराख्नुभएको छ। उहाँको गतिविधिले त्यस्तै बताउँछ।’

    चीनको चासो  

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि राजदूत होउ यान्छीको दौडधूप पनि निकै बाक्लिएको छ। राजदूत यान्छीले संसद विघटनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसँग बेग्लाबेग्लै भेट गरिन्‌। 

    त्यसपछि यान्छीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा, जनार्दन शर्मा र योगेश भट्टराईलाई पनि भेटिन्‌। 

    यहीबीचमा गत १४ मंसिरमा चिनियाँ रक्षामन्त्री वाङ् फेईले पनि नेपाल भ्रमण गरेका थिए। नेपालकी राष्ट्रपतिलाई चिनियाँ समकक्षी सी चिनफिङले 'चीन नेकपाको विभाजन चाहँदैन, एकताको लागि तपाईंले भूमिका निर्वाह गर्नुस्' भन्ने सन्देश पठाएका थिए।

    नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि बैशाख ८ गते प्रधानमन्त्री ओलीले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला उनै यान्छीले सक्रियता देखाएकी थिइन्‌। लगत्तै, नेताहरूबीचको विवाद तत्काललाई समाधान भएको थियो।

    तर, विवाद गरिरहेका नेकपाका नेताहरूलाई 'सम्झाउन' यसपटक भने राजदूत यान्छी सफल भइनन्‌। अन्तत: बेइजिङबाटै हुल बाँधेर चिनियाँ टोली नेपाल आउनुपरेको कूटनीतिक मामिला विज्ञहरूले बताइरहेका छन्‌।

    मिल्न दबाब दिँदै चीन

    नेकपा विवाद समाधान गर्ने उद्देश्यले आएको चिनियाँ टोलीले नेताहरूमाथि एकआपसमा मिल्न आग्रह र दबाब बढाइरहेका छन्‌। नेकपा एकजुट भएर अघि बढ्दा कम्युनिस्ट एकता र पार्टी पनि राम्रो हुने चिनियाँ पक्षको भनाई छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकता गरेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका छन्। 

    पार्टी एकतालाई जोगाएर जाने प्रयास गरेपनि प्रधानमन्त्री ओलीले पार्टी एकता विपरित गतिविधि गरेको चिनियाँ टोलीलाई अध्यक्ष दाहालले बताएको उनी निकट स्रोत बताउँछ। 

    ‘हामीले पार्टी एकतालाई कायम राखेर अघि बढ्न खोजेको थियौँ। तर पनि उहाँ पार्टी एकता विपरित गतिविधिमा लाग्नुभयो’ अध्यक्ष दाहालको भनाई उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘उहाँले प्रतिनिधिसभा पुनःस्थापना गरी गल्ती स्वीकार गरेर अघि बढ्नुहुन्छ भने एकतामा फर्किन कुनै समस्या छैन।’

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]