राजनीति

जनता कोरोनाको मारमा पर्दा नेकपा सत्ताको खेलमा लाग्यो : इलाम कांग्रेस

झलनाथ खनालको निर्वाचन क्षेत्रमा कांग्रेसले नारा लगायो

पुस १३, २०७७

    इलाम : जनता कोरोनाको मारमा परिरहँदा नेकपा सत्ताको जित–हारमा लागेको नेपाली कांग्रेस इलामले आरोप लगाएको छ। संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेसले नेकपाका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा विरोध जनाएको हो। 

    कांग्रेस इलाम क्षेत्र नं १ ले आयोजना गरेको प्रदर्शनमा वक्ताहरूले दुई तिहाइ बहुमतको नेकपा सत्ताको खेलमा लाग्दा देश गम्भीर संकटतर्फ धकेलिएको बताए।

    प्रधानमन्त्री केपी ओलीले जनादेशको अपमान गर्दै लोकतन्त्रमाथि प्रहार गरेको जिल्ला सभापति हिमाल कर्माचार्यले ​आरोप लगाए। भारतको सबैभन्दा ठूलो एजेन्ट प्रधानमन्त्री ओली भएकाले उग्रराष्ट्रवादको नारा लगाएर चुनावमा दुई तिहाईको बहुमत प्राप्त गरे पनि राष्ट्रपतिलाई प्रभावमा पारेर जनताको मतको अवमूल्यन गरेको उनको आरोप थियो।

    कोरोना भ्याक्सिनका लागि जनताहरु तड्पिरहेको अवस्थामा सत्ता र शक्तिका लागि नेकपाका नेताहरु आ–आफूमा लड्नु लज्जास्पद भएको उनले तर्क गरे। 

    ४ जना कम्युनिष्ट प्रधानमन्त्रीले दिन नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा दिए पनि प्रधानमन्त्रीको गैरसंवैधानिक कदमका कारण संकटमा परेको महासमिति सदस्य बन्दना अधिकारीले बताइन्। 

    कांग्रेसले राष्ट्रपति विद्या भण्डारीजस्तो असक्षम महिलालाई पदमा पुर्‍याउने चेष्टा गरे मात्र पनि पार्टी संकटमा पर्ने चेतावनी उनले दिइन्। राष्ट्रपतिलाई इंगित गर्दै अधिकारीले पद र शक्तिमा हुँदा पनि आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउने प्रयाससम्म नगर्नु दुर्भाग्य भएको बताइन्। नेकपाले विवाद र संसद् विघटनभन्दा पनि कोरोना संक्रमणबाट देशलाई जोगाउनु पहिलो प्राथमिकतामा राख्न नसक्नु लज्जास्पद भएको बताइन्। 

    कांग्रेस महाधिवेशन प्रतिनिधि डम्बर खड्काले स्विटरजरल्यान्ड बनाउने सपना बाँडेर सत्तामा पुगेको नेकपाले भष्टाचार, हत्या हिंसा बलात्कारबाहेक समृद्धि दिन नसकेको बताए।

    स्विट्जरल्यान्डको सपना बाँडेर अहिले देश एसियाकै भ्रष्ट सरकार नेकपाले बनाएको उनले बताए। स्थिर सरकारको अपेक्षा राखेर दुई तिहाईले जिताएको नेकपा अहिले सत्ताको खेलका लागि आन्तरिक रुपमा बाझेर जनमतलाई अवमूल्यन गरेको आरोप पनि लगाए।

    पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई इंगित गर्दै खड्काले भने, '२६ वर्षसम्म जिताएर पठाएको प्रतिनिधिले २६ किलोमिटर कालोपत्रे, २६ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जासमेत दिलाउन सकेनन्।'

    विरोध प्रदर्शन कार्यक्रममा गाउँ–गाउँबाट कांग्रेसले कार्यकर्ता फिक्कलमा उतारेको थियो। सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]