समाज

कोरोनाका कारण गाउँको जनजीवन पनि कष्टकर बन्दै

स्थानीय भन्छन्- पट्यार लागे पनि घरमै बसिरहनुको विकल्प छैन

जेठ ५, २०७८

    म्याग्दी : खेतीपातीको समयमा सबै कुरा छोडेर कोरोना संक्रमणबाट बँच्न घरभित्र नै सीमित रहेर बस्नुपर्दा यहाँको ग्रामीण क्षेत्रको जनजीवन कष्टपूर्ण बन्दै गएको छ।

    अकिकांश समय मोबाइल र सामाजिक संजालमा मात्र एकोहोरिएर बस्नुपर्दा शारिरीक र आर्थिक रुपमा मात्रै होइन मानसिक रुपमा समेत धेरै समस्याहरु देखिन थालेको सर्वसाधारणहरुले बताएका छन्।

    गाउँमा कामको सिजन शुरु भएको छ। मकै गोड्ने,धानको बिऊ राख्ने मात्रै होइन उच्च लेकाली क्षेत्रहरुमा अवको केही दिनपछि रोपाइँसमेत शुरु गर्ने समय हुन लागेको छ। तर,कोरोना संक्रमणको दर अहिले गाउँतिर नै बढ्दै गएपछि मानिसहरु घरबाहिर निस्कन र हिँडडुल गर्न सक्ने अवस्थामा नरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

    अहिले म्याग्दीका प्रायःसबै मानिसहरु घरभित्र नै छन्। दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट बँच्न लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकांकी मनस्थिति बनेको धेरैको भनाइ छ।

    ‘आफ्नै गाउँ टोल नै विरानो लाग्न थाल्यो,वल्लोपल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो’ बगरफाँटका ७७ वर्षिय खड्गबहादुर थापाले भने, ‘बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो बूढेसकालमा पहिलो पटक भोग्नु परेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै?’

    गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म,सर–सापटी,औंचो–पैंचो,झारा–श्रमदान हो। प्रत्यक्षरुपमा भेट भएर सुःख दुःखका कुरा गर्ने, साह्रो–गाह्रो पर्दा सरसहयोग गर्ने, परालबाट बुनेका गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा पाहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घर–व्यवहार,छोराछोरीका कुराहरुदेखि लिएर राजनीति हुँदै देश विदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामिण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन्।

     ‘आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि,उपचार भने पनि यही सम्पर्क बिहीन पद्यति रहेछ, त्यसैले पट्यार लागे पनि,अत्यार लागे पनि सुरक्षित त रहनु नै पर्‍यो’ बेनी नगरपालिका २ बगरफाँटकी कमला घिमिरेले भनिन्, ‘घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु योबाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन।’

    अहिले म्याग्दीका ६ वटै स्थानीय तहहरुमा कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ। १ लाख १३ हजार जनसंख्या रहेको म्याग्दी जिल्लामा सोमबार  (हिजो) साँझसम्म  करिब ५ सय जनासक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। गण्डकी प्रदेशको हट स्पट बनेको म्याग्दी जिल्लाको एउटै बस्तीमा ३५ जना भन्दा बढी सङ्क्रमित भेटिए पछि स्थिति भयावह बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

    वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने हिजो आइतवार पोखरामा उपचाररत म्याग्दीका एकजना व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

    समुदायस्तरमा कोरोना फैलिनुमा विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य, मृत्यु संस्कार र ती कार्यहरुमा हुने भीडभाड नै मुख्य कारण रहेका निर्क्यौल निकालिएको छ। ती कार्यहरुलाई रोक्न वा कम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]