फिचर

पेटभरि खाना नभएकाको पीडा : रोग लाग्न त पहिला मान्छे बाँच्नुपर्छ नि होइन र?

जेठ १२, २०७८

    हेटौंडा :  ३९ वर्षीय श्याम लामा बुधबार बिहान खुब खुसी देखिन्थे। उनले ३ दिनपछि पेटभरि खाना खान पाएका थिए। उनको आँखामा खुसी प्रस्टै देखिन्थ्यो। 

    ‘खाना यति धेरै मिठो त मलाई सायदै पहिला लाग्यो,’ प्लाष्टिकको थालमा भएको भातको गाँस मुखमा हाल्दै उनले भने। हुन त यसअघि पनि उनी भोको पेट नबसेका होइनन्। अक्सर उनी भोको पेट लिएर सडकको पेटीमै निदाउने गर्थे। बिहान हेटौंडामा परेको पानीमा भिजेका उनले चिसो लुगामा तातो खाना खान औधि खुसी देखिए। 

    बाटोमा भेटिने प्लाष्टिकको बोतल र कागजका टुक्रा बेचेर आउने पैसाले जीवन चलाउँदै आएका छन्। उनी निषेधाज्ञाले उनको पेटमै लात हानेको छ। ‘सडकको छेउमै सुतिरहेको हुन्छु, रोग त कहाँ आएर जान्छ देखेको छैन तर भोकले हरेक दिन मलाई खाना माग्छ। त्यसैले बिहान उठ्दा आजचाँहि बजार खुल्दियोस् है भनेर उठ्छु। गाडी पनि हिँडिरहेको हुन्छ तर हाम्रो लागि भने केही खुलेको हुँदैन,’ उनले दुःख बिसाए।

    बजार सबै बन्द हुँदा मागेर खाने ठाउँ पनि नभएको गुनासो गरे। ‘घामपानी, असिना  हावाहुरी बताास सबैलाई सहेर सडकमै सुतिन्छ, तर भोकलाई सहन धेरै गाह्रो हुन्छ,’ उनले पीडा सुनाए।

    उनीजस्तै ७ जना बुधबारबाट रोटरी क्लब अफ मकवानपुरले हेटौंडाको हुप्राचौरमा सुरु गरेको खाना खुवाउने कार्यक्रममा खान आइपुगेका थिए। अरुले प्रयोग गरेर फालेका प्लाष्टिकजन्य सामान खोजेर बेच्ने उनीहरू सडक पेटीमा बस्दै आएका छन्। 

    मकवानपुरगढी गाउँपालिका-२ का दुर्गा बहादुर तामाङ पनि हुप्राचौरमा खाना खान आइपुगेका थिए। गाडीमा सामान लोडअनलोड गर्ने काम गर्दै आएका तामाङ बन्दले काम रोकिएपछि भोकै बस्न बाध्य छन्।

    कतै कुनै खाद्यान्नको गाडीको लागि पो सामान बोक्नुपर्ने छ कि भनी उनी बन्द भए पनि उनी दैनिक हेटौंडाका गल्ली गल्ली चहार्छन्। बुधबार पनि बिहानभरि उनले हेटौंडा बजार नचहारेका होइनन्। तर कतै केही नभेटेपछि निराश बनेर फर्किरहेका उनले निःशुल्क खाना खुवाउन लागेको थाहा भएपछि त्यहाँ आइपुगेको बताए।

    ‘काम खोजिरहेको थिएँ , माम खान पाइयो खुसी लाग्यो। पेटभरि खान नपाएको पनि कत्ति भइसकेको थियो,’ उनले भने।

    तामाङले आज त दुई छाक खाना खान पाइने भयो भन्दै खुशी व्यक्त गरे। उनलाई विगत केही दिनदेखि एक व्यक्तिले बेलुकाको एक छाक खाना आफ्नो घरमा लगेर खुवाइरहेका छन्।

    त्यही एक छाक खानामा दिन बिताउँदै आएका उनले आज भने बिहान पनि खान पाएको बताए। तामाङले कोरोनाको त्रासभन्दा भोकको त्रासले सताउने गरेको बताए। ‘रोग लाग्न त पहिला मान्छे बाच्नुपर्छ नि होइन र? रोगले भन्दा अगाडि भोकले नै मान्छे मर्‍यो भने रोगसँग डराएर भोकै बसेको के अर्थ? उनले प्रश्न गरे।

    तामाङले यसअघि गत वर्ष भएको लकडाउनमा स्थानीय तहले दिएको राहतले केही दिन भए पनि सहज भएको भन्दै यस वर्ष भने कतैबाट पनि सहयोग नआएको दुखेसो गरे। 

     राजाराम थारु र सोमपति थारु खाना खाउञ्जेल पनि बस्न भ्याएनन्। उनीहरूले उभिएरै हतार हतार खाना खाए। हेटौंडालाई कर्मथलो बनाएर बस्दै आएका थारु दम्पती हतारिनुको कारण थियो, राजारामको बुवा।

    ‘उता घरमा बिहानै बुवाले संसार छाडेर जानुभयो रे। यस्तो बन्द छ, त्यसमा भोको पेट कसरी जाने?' बिहानै १६ किलोमिटर हिँडेर हेटौंडा बजारसम्म खाना खान आइपुगेका राजारामले भने। कोरोनाले गर्दा बन्द भएपछि हातमुख जोड्न नपाएका थारु दम्पतीले बुवाको मृत्यु भएको खबर सुनेपछि पनि भोको पेटलाई रोक्न सकेनन्। उनीहरूले चिया र भात मात्रै भए पनि खाए। 

    कयौं दिनपछि पेटभरि भात खाएका उनीहरूलाई अब बाँकेसम्म कसरी पुग्ने भन्ने चिन्ता छ। उनीहरूको घर बाँके हो तर केही समयदेखि हेटौंडामा तटबन्ध र नाली बनाउने काम गर्दै आइरहेका छन्।

    बन्दले काम रोकियो तर भोक रोकिएन। ठेकेदारले उधारो दिने पसल चिनाइदिएका थिए, त्यहाँबाट केही दिन त उनीहरूले उधारो ल्याएर भए पनि खाए। तर कतिञ्जेल उधारो खान पाउनु? उधारो पाउन छोडेपछि उनीहरू भोकै थिए।

    ‘कहाँबाट के पाइन्छ र कसरी जाने भन्ने केही थाहा छैन। जसरी हुन्छ बुवाको अन्त्येष्टि गर्न घर पुग्नुपर्ने छ,’ राजारामले भने। सामान बोक्ने गाडी पाइन्छ कि भन्ने आशमा घरको यात्राको लागि निस्किएको भए पनि गाडी नपाए हेटौंडादेखि बाँकेसम्म हिँडेर भए पनि जाने उनले आँट सुनाए। 

    रोटरी क्लब अफ मकवानपुरले हेटौंडामा निषेधाज्ञा अवधिभर निःशुल्क खाना खुवाउने जनाएको छ। क्लबका अध्यक्ष कविक सांगामीले कोरोनाले गर्दा भएको निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गनर्ने वर्ग सबैभन्दा पीडामा परेको भन्दै निःशुल्क खाना खुवाउने कार्य सुरु गरिएको बताए।

    निःशुल्क खाना खुवाउने कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले गरेका थिए। कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको ३ साता पुगिसकेको छ। तर यो अवधिमा कुनै पनि सम्बन्धित निकायले दैनिक ज्यालादारी गर्ने वर्गलाई राहत वितरण गर्न सकेको छैन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]