राजनीति

सुदूरपश्चिममा पेचिलो बन्दै एमाले विवाद, माओवादीका नेता–कार्यकर्ता रुष्ट

जेठ १६, २०७८

    धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।

    जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। 

    तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवादी सरकारमा सामेल भएको भन्दै एमालेको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले ३ जनैलाई कारबाही घोषणा गरे। 

    यसैबीच शुक्रबार प्रदेश सरकारको मन्त्रीमण्डल पुन:गठन गरियो। शुक्रबार नै मन्त्री पदबाट राजीनामा दिएका कृष्णराज सुवेदी र माया भट्टलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको एमालेको प्रदेश कमिटीले बतायो। यस्तै, मन्त्रीमा दोहोरिएका एमाले संसदीय दलका नेता समेत रहेका प्रकाशबहादुर शाहलाई पनि पार्टीबाट निकाल्न सिफारिस गर्‍यो। 

    पार्टी निर्णय नमानेकाले उनीहरूलाई निष्कासित गरिएको अध्यक्ष थापाको जिकिर छ। ‘स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो,’ अध्यक्ष थापाले भने, ‘उहाँहरूले पार्टीको निर्णयभन्दा बाहिर गएको हुँदा कारबाही गरिएको हो।’

    शुक्रबार प्रदेश सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिए। तर, लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भए। एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहरिए।

    शुक्रबार दिउँसो आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका थिए। 

    लगत्तै, एमालेबाट ४ र माओवादी केन्द्रबाट १ मन्त्री नियुक्त भए। मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

    यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छिन्। पूर्व सामाजिक विकास मन्त्री समेत रहेका दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। चुनदेवी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन्। 

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले शुक्रबार नै शपथ लिएका छन्। अहिलेको नयाँ मन्त्रीमण्डलमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्री मानबहादुर सुनार भने माओवादी केन्द्रका हुन्। बाँकी सबै एमाले माधव पक्षका छन्। सुदूरपश्चिमको मन्त्रीपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ। मुख्यमन्त्री सहित ४ जना माओवादी केन्द्र र ७ जना एमाले (झलनाथ-माधव) पक्षबाट मन्त्री छन्।

    मन्त्रीमण्डल पुन:गठन गर्दा मन्त्रीको नाम लिस्ट तयारीका लागि पार्टीमा गृहकार्य चलेको थियो। माधव पक्षनिकट मानिएका तारा लामा तामाङलाई भने मन्त्रीमण्डलमा ल्याउन सकेनन्। उनलाई अन्तिमसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो।

    त्यसैका लागि उनलाई प्रमुख सचेतकबाट हटाइएको थियो। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएका थिए।

    दलका नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गा कुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि सभामुखलाई दिए। तर, तारा लामा तामाङले मन्त्री पद अस्वीकार गरे। पार्टीको निर्देशन विपरीत जान नसकिने भन्दै उनले मन्त्री पद अस्वीकार गरेका हुन्। उनले भने, ‘मलाई मन्त्रीका लागि अफर गरिएको थियो। तर, पार्टीको निर्देशनविपरीत जान्न।’ 

    सुदूरपश्चिम प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका सभामुख सहित २५ प्रदेशसभा सदस्य छन्। कमिटीमा माधवकुमार नेपाल समूहको बहुमत छ। नेपाल पक्षमा १९ र केपी शर्मा ओली पक्षमा ६ जना छन्। प्रदेशसभामा ओली पक्ष कमजोर भएपछि माधव पक्षका सांसदलाई कारबाही गर्न पार्टीका प्रदेश कमिटीका अध्यक्ष र सचिव अघि सरेका हुन्। 

    उनीहरूले तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका थिए। प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले उनीहरूलाई २४ घण्टा समय दिएर स्पष्टीकरण सोधेको थिए। उनीहरूले स्पष्टीकरणको जवाफमा प्रदेशका अध्यक्ष र सचिवमाथि नै वैधानिकताको प्रश्न उठाएका थिए। 

    एमाले विवाद झन्‌ गहिरिँदै जाने देखिएको छ। थापाले तीन जनालाई साधारण सदस्य नै नरहने गरी कारबाही गरेको घोषणा गरेपनि यसरी कारबाही गर्न सक्ने अधिकार भने उनलाई नभएको नेपाल पक्षका नेताहरू बताउछन्। 

    ‘पार्टीको विधान अनुसार कारबाही गर्ने विभिन्न प्रकृयाहरू हुन्छन्। प्रदेशका कुनै नेताले कारबाही भयो भन्दैमा त्यो आधिकारिक कसरी हुन्छ?’ एक नेताले भने। 

    तल्ला कमिटीका नेता कार्यकर्तालाई कारबाही गर्नका लागि पनि त्यसको मुनासिब कारण हुनुपर्ने र माथिल्लो कमिटीबाट प्रकृया हुनुपर्ने व्यवस्था विधानमा रहेको नेपाल पक्षका नेताहरूको भनाई छ।

    माओवादी केन्द्रमा पनि भाँडभैलो

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल पुन:गठन गरेसँगै नेकपा माओवादी केन्द्रमा पनि भाँडभैलो देखिएको छ। 

    केन्द्रको ठाडो निर्देशनमा शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल पुन:गठन गरेको भन्दै माओवादी केन्द्रका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा समेत नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। प्रदेश कमिटी र संसदीय दलको भावनाविपरीत मन्त्रीपरिषद् पुन:गठन गरिएको भन्दै नेता–कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि खनिएका हुन्। 

    शुक्रबार माओवादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी र मानबहादुर सुनार राज्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी केन्द्र सुदूरपश्चिमका सहइञ्‍चार्ज खगराज भट्टले मन्त्रीपरिषद् पुन:गठन प्रकृयाप्रति असन्तुष्टि जनाएका छन्।

    भट्टले सुदूरपश्चिमलाई हेप्ने मामिलामा सबै पार्टीका नेता उस्तै रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रीमण्डलमा नियुक्त सबै साथीहरू योग्य र बधाईका पात्र छँदैछन्। उहाँहरूलाई सफलताको शुभकामना! तर विधि, पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शीर्षनेता कोहीभन्दा कोही कम रहेनछन्।’

    सुदूरपश्चिमको पार्टी नेतृत्वलाई ‘जोकरफाल्तु’ बनाइएको आरोप उनको छ। मन्त्रीपरिषद् पुन:गठन हुँदै गर्दा उनले भनेका थिए, ‘सुदूरपश्चिमको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना र भावनालाई लत्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रीपरिषद् पुन:गठन प्रकृयाप्रति खेद व्यक्त गरौँ।’

    भट्ट सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवासँग तीनपटक चुनाव लडेका थिए। तीनैपटक उनी पराजित भएका थिए। 

    यस्तै, पूर्वसांसद मञ्‍जु बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निद्राबाट बिउँझिन आग्रह गरेकी छन्। उनले ‘तपाईं कसको बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेकी छन्। 

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड प्रचण्ड! अब त निद्राबाट बिउँझनुस्। तपाईं कसको बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी इञ्‍चार्जविहीन हुँदा तपाईं नै सुदूरपश्चिम प्रदेश इञ्‍चार्ज हो। यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमानदार कार्यकर्तालाई किनारा लगाएर बारम्बार तपाईंको वरिपरि परिक्रमा गर्ने एक–दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेता–कार्यकर्ताको पनि सुझाव लिने ? तपाईंले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु'भो। हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमानदार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनुभो, आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ। एक दिन अवश्य पछुताउनुपर्नेछ, जुन दिन निकै ढिलो भइसकेको हुनेछ। भिरबाट हाम फाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन...।’

    सुदूरपश्चिमको मन्त्रीपरिषद्मा अब माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री छन्। कैलालीका सांसद वीरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सांसद देवकी मल्ललाई मन्त्रीपरिषद् पुन:गठनमा छुटाएको भन्दै नेता–कार्यकर्ता रुष्ट देखिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]