राजनीति

जसपाको सत्तारोहणअघि ओली र भारतबीच मिलाप

भनेका थिए : भारतसँग अब कुनै असमझदारी छैन

२०७५ वैशाख २८ गते जनकपुरमा नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदी ।
जेठ २४, २०७८

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) भित्र विवादबीच गत शुक्रबार महन्थ ठाकुर-राजेन्द्र महतो समूहका १० जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ गराए। ओलीको चर्को आलोचना गरिहिँडेको यो समूहका नेताहरू पछिल्लो एक महिनादेखि सरकारमा आउन निकै लालायित देखिन्थे।

    ६ वर्षअघि अर्थात्‌ २०७२ सालमा नेपालविरुद्ध नाकाबन्दी लगाउँदा भारतको 'फेभर'मा काम गरेका राजेन्द्र महतोले त ओलीविरुद्ध निकै उग्र अभिव्यक्ति दिँदै आएका थिए। अन्तत: उनै महतो ओली नेतृत्वको क्याबिनेटमा उपप्रधानमन्त्री बने। 

    जसपाको ठाकुर-महतो पक्ष भारतसँग बढी नै निकट मानिन्छ। भूकम्पको थिलथिलो भोगिरहेको नेपालमा केही दशक देखिको राजनीतिक संक्रमणलाई अन्त्य गर्नेगरी २०७२ सालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो।

    नेपालको संविधानमा आफ्नो 'स्वार्थ' सम्बोधन नभएपछि क्रुद्ध बनेको भारतलाई नाकाबन्दी थप कडा बनाउन हालको ठाकुर-महतो समूह नै फ्रन्टलाइनर बनेको थियो। ​त्यतिखेरका मधेसी दलहरूले भारततर्फ सञ्‍चालित मेसमा खाना खाँदै नेपालतर्फ अस्तव्यस्तता निम्त्याएका थिए। सीमा नाकामा अवरोध गर्दा आपूर्ति प्रभावित भइ यहाँ अत्यावश्यक सामग्री हाहाकार भएको थियो।

    ठाकुर-महतो समूह जसरी संविधानविरुद्ध खनिएका थिए, हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यतिखेर भारतविरुद्ध उसरी नै वाक्युद्धमा उत्रिएका थिए। भारतप्रति आम नागरिकमा पैदा भएको आक्रोशलाई क्यास गरेका ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वाम गठबन्धन नै बनाइ २०७४ सालको चुनावमा बहुमत प्राप्त गरेका थिए। पछि गठबन्धनका दुई दलबीच पार्टी एकता नै भयो भयो र गत वर्ष विभाजन पनि।

    त्यसयता हालसम्म प्रधानमन्त्रीको कुर्सीमा विराजमान ओलीले यसबीचमा पार्टी विभाजन भएपछि सत्ता जोगाउन अनेक कोसिस गरिरहेका थिए।

    रअ प्रमुख गोयलको प्रवेश

    सत्तारूढ नेकपाभित्र सत्ता संघर्ष चुलिइरहँदा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयल २०७६ साउन ४ गते शनिबारका दिन दलबलसहित काठमाडौं उत्रिए। 

    साउन ६ गतेसम्म काठमाडौंमा बसेका गोयल नेपाल आउनुको उद्देश्य न त्यतिखेर खुलेन। तीन दिन बीचमा गोयलको समूहले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको थियो।

    ओलीका सहयोगीहरूले भने गोयल बालुवाटार आएको, तर ओलीले भेट नदिएको दाबी गरेका थिए। त्यतिखेर ओलीका प्रेस सल्लाहकार रहेका डा. कुन्दन अर्यालले रअ प्रमुखसँग ओलीले भेट्न अस्वीकार गरेको मिडियाहरूलाई बताएका थिए।

    उनै गोयल २०७७ कात्तिक ५ गते फेरि बालुवाटारमा झुल्किए। ओलीसँग कुराकानी गरे। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो भेटवार्ताबारे प्रेस नोट जारी गरेर जानकारी दिएका थिए।

    ओली र रअ प्रमुख गोयलको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले समेत अनभिज्ञता प्रकट गरेको थियो। त्यतिखेर उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमै गोयल नेपाल आएको भन्दै उनको बचाउ गरेका थिए। 


    'भारतसँग असमझदारी हटेको छ'

    'के तपाईंलाई भारतबाट आशा गरेजस्तै सहयोग भयो?' भनि शालु यादवले प्रश्न सोध्दा ओलीले अब नकारात्मक कुरा गर्न आफूलाई आवश्यक नरहेको बताएका छन्‌। अदालतकाे फैसला, खोपको कमी र भारतमै कोरोना फैलिरहेकाले त्यहाँबाट मिल्नुपर्नेजति सहयोग नमिलेको ओलीले तर्क गरेका छन्‌।

    भारतमा महामारी रोकिएपनि नेपालमा नियन्त्रण भएन भने त्यसको कुनै अर्थ नै नहुने ओलीले सो अन्तरवार्तामा बताएका छन्‌। 

    'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई के भन्न चाहनुहुन्छ' भनी सोधिएको प्रश्नमा ओलीले नेपाललाई अरू देशभन्दा केही फरक ढंगले हेरिदिन आग्रह गरेका छन्‌। उनले भनेका छन्‌, 'हामी त्यस्तो छिमेकी हौँ : जहाँ सिमानामा दुवैतिर खेत छन्‌। कतै त दशगजा कहाँ छ भन्ने पनि थाहा छैन। मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ।'

    ओलीले आफूले भारतबाट सहयोग पाइरहेको पनि बताएका छन्‌। अक्सिजन र औषधिलगायत धेरै कुरा ल्याइरहेको, भारतले नै सबैभन्दा पहिले नेपाललाई खोप पनि उपलब्ध गराएको भन्दै उनले भारतलाई धन्यवाद दिएका छन्‌। ​

    महामारीका बेला चीनले धेरै सहयोग गरेका कारण अब नेपालमा चीनकै प्रभाव बढेको हो भन्ने प्रश्नमा ओलीले राजनीतिलाई बीचमा ल्याउन आवश्यक नभएको बताएका छन्‌। कसैको प्रभावको कुरा नभएर खोपको मामिला भएको र भारत, चीन, अमेरिका या बेलायत जसले दिएपनि आफूलाई राम्रो हुने उनले तर्क गरेका छन्‌।

    '​विगत ६ वर्षदेखि मोदी भारतमा प्रधानमन्त्री छन्‌, यो बीचमा नेपालसँगको सम्बन्धमा केही तनाव रह्यो, केही मनमुटाव भयो, तपाईं र भारतबीचको सम्बन्ध कहाँ रहेको छ ?' भनी सोधिएको प्रश्नमा ओलीले छिमेकी भएका कारण नै समस्या हुने र चिली या अर्जेन्टिनाका मानिससँग (यहाँका मानिसको) न प्रेम, न त घृणा हुने तर्क राखेका छन्‌।

    यसअघि भारतसँग असमझदारीहरू रहेको भन्दै ओलीले ​छिमेकीसँग प्रेम र घृणा दुवै हुने, तर अब त्यसैमा अल्झिएर बस्नु नहुने बताएका छन्‌। उनले भनेका छन्‌, 'भविष्य हेरेर अघि बढ्नुपर्छ। अब भारतसँग असमझदारी हटेको छ।'


    उनले प्रधानमन्त्री ओली र रअ प्रमुखबीच दुई देशबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा कुराकानी भएको बताएका थिए। केही समयदेखि असहज बन्न पुगेको नेपाल भारत सम्बन्ध, सीमा समस्या र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रीत रहेर कुराकानी भएको पोखरेलले दाबी गरेका थिए।

    प्रधानमन्त्री ओलीले रअका प्रमुख गोयललाई बालुवाटारमै बोलाएर गरेको भेटवार्ताका कारण कूटनीतिक मर्यादा विपरीत र राष्ट्रिय स्वाभिमानमा आँच आएको आरोप लाग्यो। सत्तारुढ दल दुई धार नै देखियो।

    त्यसपछि नेकपाभित्रकै पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्ष ओलीविरुद्ध सडक र कानूनी संघर्षमा उत्रियो। प्रमुख प्रतिपक्षी कांग्रेस लगायत अन्य विपक्षी दलहरू पनि आन्दोलनमा जोडिए। 

    फागुन ११ गते सर्वोच्च अदालतले संसद्‌ पुन:स्थापना हुने फैसला सुनायो। नेकपाको नाम विवादमा परेको अर्को मुद्धामा फागुन २३ गते फैसला गर्दै अदालतले सो नाम ऋषि कट्टेलको पार्टीको हुने र सत्तारूढ नेकपा साविक एमाले र माओवादी केन्द्रकै अस्तित्व फर्कने बाटो देखाइदियो। 

    वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि नेकपा (माओवादी केन्द्र) ले वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएको थियो।

    विश्वासको मत लिने तयारी हुँदैगर्दा प्रधानमन्त्री ओलीले जसपाको ठाकुर-महतो समूहलाई निकै फकाएका थिए उनीहरूले उठाएका माग पूरा गरिदिने भन्दै उनले आफ्नो पक्षमा मत दिन या तटस्थ बस्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले यो समूहलाई गरेको प्रस्तावबारे भारतीय दूतावास पूरापूर अद्यावधिक रहेको जसपाकै नेताहरू बताउँछन्‌।

    प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा ३२ सांसद्‌ रहेको जसपाका ठाकुर-महतो समूह तटस्थ बसेको थियो। यो समूहसँग १५ जना सांसद थिए। जसपाकै डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १५ जनाले ओलीको विपक्षमा मत दिए। सो पार्टीका दुई सांसद अनुपस्थित थिए।

    ओलीको अन्तरवार्ता र ठाकुर-महतोको सत्तारोहण

    भारतले नाकाबन्दी लगाएका बेला दिल्ली र संविधानविरुद्ध प्रदर्शनरत तराईका क्षेत्रीय दलहरूप्रति ओलीको कटाक्ष बरोबर थियो। ६ वर्षपछि उनै ओली भारत र संविधानविरोधी भनिएका ठाकुर-महतो समूहप्रति पूरापूर नतमस्तक भैदिए। 

    ठाकुर-महतो समूहका १० नेताहरू गत शुक्रबार मन्त्री बनाइएका हुन्। त्यसअघि बीबीसी हिन्दीकी पत्रकार शालु यादवलाई अन्तरवार्ता दिँदै ओलीले भारतसँग कुनै असमझदारी नभएको बताएका थिए।

    महन्थ ठाकुर समूह सरकारमा सहभागी भएकै दिन बीबीसी (अन्तरवार्ताको अनुवादित अंश सुन्न बीबीसी नेपाली सेवाको यो लिंकमा क्लिक गर्नुहोस्‌)  सो अन्तरवार्ता प्रसारण भएको थियो।

    भारतसँग सम्बन्ध सुध्रिएको भनी ओलीले गरेको दाबी सम्बन्धी समाचारलाई त्यहाँका मिडियाहरूले निकै महत्वका साथ प्रचारप्रसार गरिरहेका छन्‌।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]